एन्फाले प्रत्यक्ष प्रसारण गर्न नमानेपछि आन्दोलनरत खेलाडीद्वारा वार्ता बहिस्कार

कार्तिक २४, २०८२ |खेल ब्युरो
एन्फाले प्रत्यक्ष प्रसारण गर्न नमानेपछि आन्दोलनरत खेलाडीद्वारा वार्ता बहिस्कार

काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फाले प्रत्यक्ष प्रसारण गर्न नमानेपछि आन्दोलनरत खेलाडीले वार्ता बहिस्कार गरेका छन् ।

सबैखाले लिग तोकिएको समयमा नियमित हुनुपर्ने मागसहित विरोधमा उत्रिएका खेलाडीलाई एन्फाले साेमबार एक बजे वार्ताका लागि बोलाएको थियो । आफूहरूको मुद्दा सबै खेलाडी र समर्थकले थाहा पाउनुपर्ने भन्दै खेलाडीले वार्ता प्रत्यक्ष प्रसारण गर्न माग गरेका थिए । तर वार्ताका लागि सातदोबाटोस्थित एन्फा कम्प्लेक्स पुगेका खेलाडी प्रत्यक्ष प्रसारण गर्न अस्विकार गरेपछि फर्किएका छन् । 

विक्रम लामा अध्यक्ष रहेको नेपाल फुटवल खेलाडी संघले आफ्ना सात बुँदे माग पत्र पेस गर्दै वार्ता बहिस्कार गरेको हो । साधारण सभाले पारित गरेको 'ए' डिभिजन लिगको मितिलाई बेवास्ता गर्दै राष्ट्रिय लिग घोषणा गरेपछि खेलाडी सडकमा उत्रिएका हुन् । 

नेपाल फुटवल खेलाडी संघले गत बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा विरोध गरेका थिए । खेलाडीले एन्फालाई समस्या समाधानका लागि एक साताको अल्टिमेटम दिएका थिए । पूर्व निर्धारित तालिका अनुसार आगामी पुस नौ गते 'ए' डिभिजन लिग सुर" हुने तय थियो । तर एन्फा र 'ए' डिभिजनका १४ क्लबले यो वर्ष राष्ट्रिय लिग र अर्को वर्ष मात्र 'ए' डिभिजन लिग गर्ने सहमति गरेपछि खेलाडी आक्रोशित भएका हुन् । 

राष्ट्रिय लिग पुस नौ गते हुने तालिका छ । 'ए' डिभिजन लिग नभएको आज ८ सय ८३ दिन पुगेको छ ।