महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायरको तयारीमा रहेको नेपाली टिम अभ्यासका लागि भारत जाने

नोभेम्बर १३ देखि १९ सम्म राजस्थान, उत्तराखन्ड र बंगाल टिमसँग ६ अभ्यास खेल खेल्ने
कार्तिक २४, २०८२ |खेल ब्युरो
महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायरको तयारीमा रहेको नेपाली टिम अभ्यासका लागि भारत जाने

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमले अभ्यासका लागि भारत भ्रमण गर्ने भएको छ । 

नेपाल आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरको तयारीमा छ । नेपाल क्रिकेट संघ-क्यानले साेमबार यही नोभेम्बर १३ देखि १९ सम्म राजस्थान, उत्तराखन्ड र बंगाल टिमसँग ६ अभ्यास खेल खेल्ने जानकारी दिएको हो । नेपालले तीनवटै टिमसँग २-२ खेल खेल्नेछ । 

राजस्थानसँग १३ र १७ नोभेम्बरमा प्रतिस्पर्धा गर्दैछ । उत्तराखन्डविरूद्ध १४ र १८ मा खेल्नेछ । बंगलाको टिमसँग १५ र १९ मा खेल्नेछ । भारत भ्रम्णमा जाने १५ खेलाडीको नाम पनि क्यानले सार्वजनिक गरेको छ । जसमा इन्दु बर्मा, कविता कुँवर, सना प्रविण, रूविना क्षेत्री, अलिसा यादव, ईश्वरी विष्ट र रोमा थापा छन् । 

चोटका कारण लामो समय मैदान बाहिर रहेकी अश्मिना कर्माचार्यले पनि पुनरागमन गरेकी छन् । सवनम राई विन्दु रावल, पूजा महतो, लक्ष्मी साद, मनिषा उपाध्याय, सिमाना केसी र ममता चौधरी टिममा समावेश छन् । नेपालले घरेलु मैदानमा आगामी जनवरीमा ग्लोबर क्वालिफायर खेल्दैछ । नेपाल पहिलो पटक ग्लोबलर क्लालिफायर पुगेको हो ।