
काठमाडौं । हङकङ सिक्सेजको अर्को खेलमा नेपाल श्रीलंकासँग तीन विकेटले पराजित भएको छ।
मंक कोक मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा चार विकेट गुमाएर ८६ रन बनाएको थियो। नेपाली खेलाडीले आफ्नो इनिङमा नौ छक्कासहित १४ बाउन्ड्री लगाएका थिए। कप्तान सन्दिपले १० बलमा ३९ रनको योगदान गरे भने लोकेश बलमे पनि ३१ रनको पारी खेले।
उनीहरूले ५९ रनको ओपनिङ पार्टनरसिप गरे। राशिद खान शून्यमा आउट भए। आदिल आलम र सरद भेषावकरले पनि सम्झनलायक प्रदर्शन गर्न सकेनन्। श्रीलंकाका थरिन्दू रतनायकेले दुई विकेट लिएका थिए। जवाफमा ८६ रनको लक्ष्य श्रीलंकाले तीन बल बाँकी रहँदै पुरा गर्यो।
लोकेश बलमे धानुका धबारेलाई १० रनमा आउट गरे। लाहिरू समाराकोना रूपेश सिंहको बलमा क्याचआउट भए। रूपेशले मधुशंकलाई शून्यमा बोल्ड गरे। २० रनमै तीन विकेट गुमाए पनि श्रीलंकाले पुनरागमन गर्यो। त्यसपछि धनन्जय लक्षन र निमेश विमुक्तिले ६९ रनको साझेदारी गरेर श्रीलंकालाई जितसम्म पुर्याए। उनीहरूले २० बलमा सो साझेदारी गरे। धनन्जयले ३६ र निमेशले ३३ रनको योगदान गरेका थिए।