
काठमाडौं । नेपालले हङकङ अन्तर्राष्ट्रिय सिक्सेजमा लगातार दोस्रो हार ब्यहोरेको छ।
हङकङमा शुक्रबारदेखि सुरू भएको प्रतियोगितामा नेपाल शनिबार चार विकेटले दक्षिण अफ्रिकासँग पराजित भएको हो। टस जितेर दक्षिण अफ्रिकाले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेपालले तीन ओभर तीन बलमा ६ विकेट गुमाएर ५८ रन बनाएको थियो।
ओपनर सन्दीप जोरा ६ रन र बसिर अहमद शून्यमा बोल्ड भए। लोकेश बलले १४, राशिद खानले १६ र आदिल आलमले पनि १३ रन मात्रै बनाउन सके। पूरा ओभरसम्म खेल्न नसकेको नेपालविरूद्ध दक्षिण अफ्रिकाका अब्दुल्लाह बयोउमाई, ब्लेक सिम्पसन र जोरिच भानले समान २-२ विकेट लिए।
जवाफमा ५८ रनको लक्ष्य दक्षिण अफ्रिकाले तीन ओभर चार बलमा ६४ रन बनाएर पूरा गर्यो। उसका लागि जोरिचले १७ रन जोडे भने अब्दुल्लाहले १६ रनको योगदान गरे। लोकेशले कप्तान जोर्डन मोरिसलाई शून्यमा कट एन्ड बोल्ड गरेको भए पनि सिम्पसनले अविजित ३० रन जोड्दै दक्षिण अफ्रिकालाई जितसम्म पुर्याए। नेपालका लोकेशले मात्रै २ विकेट लिए। पहिलो खेलमा शुक्रबार नेपाल अफगानिस्तानसँग पराजित भएको थियो।