
झापा । विभागीय टोली त्रिभुवन आर्मी क्लब झापाको दूधे रंगशालामा जारी प्रथम झापा महिला गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज सम्पन्न क्वाटरफाइनलमा आर-एस पोखरा फुटबल क्लबलाई ६-० गोलको विशालअन्तरले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । अब आर्मीले फाइनल प्रवेशका लागि अर्को विभागीय टोली नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्ने छ भने नेपाल पुलिस क्लबले संकटा क्लबको सामना गर्ने छ । आर्मीलाई सेमिफाइनलमा स्थान दिलाउन विमला चौधरीले ह्याट्रक गरिन् । यस्तै जेनिफर मगर, विमला विक र सर्मिला थापाले १-१ गोलको योगदान दिए । यस खेलको उत्कृष्ट खेलाडी घोषित भएकी विमला चौधरीले १५ हजार रुपैयाँ प्राप्त गरिन् ।
प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनलमा भोलि पुलिस र संकटा क्लब प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको विजेताले १० लाख १० हजार र उपविजेताले ५ लाख रुपैयाँ हात पार्ने छन् ।