
झापा । झापा महिला गोल्डकपको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले चर्च बोइज युनाइटेडलाई फराकिलो अन्तरले हराएको छ।
शिवसताक्षी नगरपालिकामा आयोजना भएको प्रतियोगितामा पुलिस ८-० को जितसहित सेमिफाइनलमा प्रवेश गरेको छ। खेलको पहिलो हाफमा १-० को मात्रै अग्रता बनाएको पुलिसले दोस्रो हाफमा आक्रामक प्रदर्शन गर्यो। खेलको ३७औं मिनेटमा रेखा पौडेलले पुलिसलाई अग्रता दिलाएकी थिइन्।
मिना देउवाले दोस्रो हाफको सुरूमै गोल गरेर अग्रता दोब्बर बनाइन्। त्यसपछि लगातार दुई गोल गरेर मिनाले हृयाट्रिक पुरा गरेकी थिइन्। खेलमा मिना पौडेल र रेखाले अर्को गोल पनि गरेपछि खेलमा पुलिसले दबाब बनाएको थियो। कमजोर प्रदर्शन गरेको चर्च बोइजका तर्फबाट कुनै खेलाडीले गोल गर्न सकेनन्।
खेल अवधिभरी मिनाले पाँच गोल गरिन्। खेलको अन्तिम मिनेटमा रेखा पौडेलले पनि हृयाट्रिक गरेकी थिइन्। आजको जितसँगै पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ। भोलि हुने खेलमा अर्को विभागीय टिम एपीएफले सिक्किमको सामना गर्नेछ। प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको छ। प्रतियोगिताको फाइनल खेल यही नोभेम्बर १० मा हुनेछ।