आईसीसी विश्वकप लिग 'टू'मा नेपालको लगातार निराशाजनक प्रदर्शन, अमेरिकासँग ४ विकेटले पराजित

ओडीआई जोगाउन नेपालमाथि दबाब बढ्दै
कार्तिक १५, २०८२ |खेल ब्युरो
आईसीसी विश्वकप लिग 'टू'मा नेपालको लगातार निराशाजनक प्रदर्शन, अमेरिकासँग ४ विकेटले पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग टूको क्रिकोणात्कम सिरिज लागि यूएई भ्रमणमा रहेको नेपालले खराब लयलाई निरन्तरता दिँदै लगातार तेस्रो हार बेहोरेको छ । 

आफ्नो तेस्रो खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भयो । अमेरिकाले भने जारी सिरिजमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ । सहज क्याच समात्न नसक्नु नेपालको हारको प्रमुख कारण बन्यो । दुबईस्थित आइसीसी एकडेमीको मैदानमा अमेरिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएपछि सुरुवातमा ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखलाई मात्र २ रनमा गुमाएको थियो । 

दोस्रो विकेटका लागि कुशल भुर्तेल र भीम सार्कीले ८६ रनको साझेदारी गर्दै नेपालको इनिङ्सलाई अघि बढाएका थिए । कुशल ४७ र भीम ४३ रनमा आउट भए । दुवै जनाको विकेट हर्मित सिंहले लिएका थिए । आरिफ शेख २ रनमा बाहिरिए । पाँचौं विकेटका लागि दीपेन्द्र र कप्तान रोहित पौडेलले ८९ रनको साझेदारी गरेका थिए । ३५ रन जोडेका रोहित २ हजार ओडीआई रन बनाउनबाट २ रनले चुके । 

गुल्शन झा ५ र नन्दन यादव १ रनमा बाहिरिए । दीपेन्द्रले ६७ बलमा २ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ७५ रनको अर्धशतकीय योगदान दिए । ओडीआईमा दीपेन्द्रको यो छैटौं अर्धशतक थियो । तल्लोक्रममा करण केसीले आक्रामक ब्याटिङ गर्दै ३१ बलमा ४९ रनको महत्वपूर्ण योगदान दिए । सन्दीप लामिछाने ४ रनमा नटआउट रहे ।

अमेरिकाका लागि हर्मितले ३ तथा केन्जिगे र सौरभ नेत्रभलकरले २-२ विकेट हात पारे । जवाफमा २ सय ७२ रनको लक्ष्य अमेरिकाले एक ओभर बाँकी रहँदै ६ विकेट गुमाएर पुरा गर्यो । स्मित पटेल र शायन जहांगिरले पहिलो विकेटका लागि ५३ रनको ओपनिङ साझेदारी गर्दै अमेरिकालाई बलियो सुरूवात दिलाएका थिए । पटेललाई गुल्सनले आउट गर्दै साझेदारी तोडेका थिए । जहागिर ३६ रनमा बाहिरिए । कप्तान मोनक पटेल २१ रनमा बाहिरिए ।

चौथो विकेटका लागि साइतेजा मुक्कामाला र मिलिन्द कुमारले १ सय २३ रनको शतकीय साझेदारी गरेपछि अमेरिका खेलमा हावी भएको थियो । मिलिन्दलाई सन्दीपले क्याच आउट गराएपछि यो साझेदारी टुटेको थियो । मिलिन्दले ७० र मुक्कामालाले सर्वाधिक ७५ रनको अर्धशतकीय योगदान दिएका थिए । सन्जय कृष्णमूर्ती १५ र हर्मित सिंह १३ रनमा नटआउट रहे ।

नेपालका लागि सन्दीपले ३ तथा नन्दन यादन, करण र गुल्सनले १-१ विकेट लिए । यससँगै लिग टुको अंक तालिकामा शीर्ष स्थानमा रहेको अमेरिकाले २३ खेलमा ३४ अंक जोडेको छ । १९ खेलमा १२ अंकसहित नेपाल पुछारबाट दोस्रो स्थानमा छ । अमेरिकाले आफ्नो अर्को खेलमा सोमबार यूएईसँग प्रतिस्पर्धा गर्ने छ । नेपाल र युएईबीचको खेल बुधबार हुने छ ।