
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणका लागि काठमाण्डू गोर्खाजले चौथो विदेशी खेलाडीको रूपमा बेन चार्ल्सवर्थलाई अनुबन्धित गरेको छ ।
क्लबले सामाजिक सञ्जालमार्फत देव्रे हातले ब्याटिङ र दाहिने हातले बलिङ गर्ने चार्ल्सवर्थलाई अनुबन्धित गरेको जनाएको हो । २४ वर्षे अलराउन्डरले इङ्ल्यान्डको राष्ट्रिय टिमबाट डेब्यू नगरे पनि इंग्लिस काउन्टी खेल्दै आएका छन् । इंग्ल्यान्डको अन्डर-१९ टीमबाट खेलिसकेका चाल्र्सवर्थ गत सिजनको आईएल टी-२० मा एमआई इमिरेट्स टिमको सदस्य थिए ।
चार्ल्सवर्थले १७ वर्षको उमेरमा प्रथम श्रेणीको क्रिकेटमा 'डेब्यू' गरेका थिए । उनले काउन्टी क्रिकेटको ५७ खेलमा २७ सय ५४ रन बनाएका छन् । जसमा ४ शतक र १५ अर्धशतक सामेल छन् । साथै उनको नाममा ३० विकेटसमेत छ । चार्ल्सवर्थले टी-२० क्रिकेटमा ४४ खेल खेल्दै ३ अर्धशतकसहित ७ सय ७६ रन बनाइसकेका छन् ।
करण केसीको कप्तानी र मोन्टी देशाईको प्रशिक्षणमा नयाँ नाम, लोगो र रणनीतिसहित मैदान उत्रिन लागेको गोर्खाजले यसअघि नै दक्षिण अफ्रिकी मूलका इंग्लिस विकेटकिपर ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरार्ड एरास्मस र अमेरिकी ब्याटर मिलिन्द कुमारलाई विदेशी खेलाडीको रूपमा हस्ताक्षर गरिसकेको छ । दोस्रो संस्करणको एनपीएल आगामी मंसिर १ देखि २७ गतेसम्म हुँदै छ ।