
काठमाडौं । इङलिस प्रिमियर लिग अन्तर्गत 'बक्सिङ डे'मा यो सिजनमा मात्र एक खेल हुने भएको छ ।
युरोपियन क्लब प्रतिस्पर्धामा बढेको खेल संख्याको असर इङलिस फुटवलको शीर्ष डिभिजनमा परेको हो । प्रिमियर लिगले २६ डिसेम्बरमा एक खेल मात्र हुने जानकारी दिएको हो । इङलिस फुटबलमा 'बक्सिङ डे'का दिन हुने खेल लामो समयदेखि परम्पराका रूपमा रहँदै आएको छ । तर यसपटक प्रिमियर लिगको एकमात्र खेल म्यानचेस्टर युनाइटेडले ओल्ड ट्राफोर्डमा न्युक्यासलसँग प्रतिस्पर्धा गर्नेछ ।
युरोपियन क्लब प्रतिस्पर्धाका कारण प्रिमियर लिगलाई आफ्नो तालिका मिलाउन चुनौतीपूर्ण हुँदै आएको छ । एफए कपलगायत अन्य घरेलु प्रतियोगिताको क्यालेन्डरमा पनि प्रत्यक्ष असर परिरहेको छ । प्रिमियर लिग अघिल्लो सिजनभन्दा कम ३३ साताको भएको छ । तीन सय ८० खेल भए पनि सन १९९५ यता यो कम साता हो । यो वर्षको 'बक्सिङ डे' शुक्रबार परेको छ ।
यसको मतलब शनिबार २७ डिसेम्बरमा सात खेल हुनेछन् । त्यसको भोलिपल्ट दुई खेलसहित म्याच विक १८ को समापन हुनेछ । गत वर्ष पहिलो पटक युएफा क्लब प्रतियोगिता विस्तारपछि 'बक्सिङ डे' का दिन प्रिमियर लिगका ८ खेल भएका थिए । प्रिमियर लिगले अर्को सिजन बक्सिङ डे मा धेरै खेल हुने आश्वासन दिएको छ । युएफा क्लब प्रतिस्पर्धा अहिले ६ बाट बढेर दश मिड विकमा पुगेको छ । २०२४-२५ को सिजनमा च्याम्पियन्स लिग, युरोपा लिग र कन्फरेन्स लिग विस्तार भएको हो ।