विश्वकप क्रिकेट लिग टु : नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै

कार्तिक १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
विश्वकप क्रिकेट लिग टु : नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु मा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । यूएईमा जारी त्रिकोणात्मक सिरिजमा नेपाल अझै पहिलो जितको खोजीमा छ ।

चार महिनापछि ५० ओभरको फरम्याटमा फर्किएको नेपालले, टी-ट्वेन्टी क्रिकेटको लय समाउन सकेको छैन । स्टुअर्ट ल को टिमले जारी सिरिजमा यूएई र अमेरिकासँगको पहिलो खेलमा हार बेहोरेको छ । अमेरिकाले नेपाललाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित गर्‍यो । दोस्रो खेलमा यूएईले ५ विकेटको जित हात पार्‍यो । कप्तान रोहित पौडेलको शतकका बाबजुद नेपालले युएइसँग जित हात पार्न सकेन । नेपालले २ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । यूएईले ३९ बल बाँकी हुँदा ५ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्‍यो । अमेरिकासँग नेपालले २ सय ६३ रन चेज गर्न सकेन् । सो खेलमा मध्यक्रमका ब्याटर मिलिन्द कुमारले अविजित ७० रन र हर्मित सिंहले ६ विकेट लिएका थिए । दुवै खेलमा नेपालको ओपनिङ जोडी चल्न सकेको छैन । अमेरिकासँग कुशल भुर्तेल डक आउट हुँदा यूएईविरुद्ध ७ रनमा मैदान बाहिरिए । अंक तालिकामा सुधार गर्दै ओडिआई जोगाउने दबाब कम गर्न नेपालले अमेरिकासँग जित हात पार्नु आवश्यक छ । यो खेलमा प्रशिक्षक ल ले प्लेइङ ११ मा पनि परिवर्तन गर्ने सम्भावना छ । अमेरिका भने लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा छ । तालिकाको सातौं स्थानमा रहेको नेपालको १८ खेलबाट १२ अंक छ । पुवुदु दासानायकेको टिम २२ खेलबाट ३२ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । यो खेल कान्तिपुर म्याक्स एचडी र म्याक्सको युट्युब च्यानलमा प्रत्यक्ष हेर्न सक्नु हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.