भारतमाथि अस्ट्रेलियाकाे जित

कार्तिक १४, २०८२ |खेल ब्युरो
भारतमाथि अस्ट्रेलियाकाे जित

काठमाडौं । अस्ट्रेलियाले भारतविरूद्धको दोस्रो टी-२० आईमा चार विकेटको जित हात पारेको छ । 

योसँगै पाँच खेलको सिरिजमा घरेलु टिम १-०को अग्रता लिन सफल भयो । मेलवर्न क्रिकेट ग्राउन्डमा अस्ट्रेलियाले टस जितेर फिल्डिङ गर्ने निर्णय लियो । भारतले खराब प्रदर्शन गर्दै १८ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय २५ रन मात्र बनाउन सक्यो । अभिषेक शर्माबाहेक भारतका अन्य ब्याटरले खास प्रदर्शन गर्न सकेनन् ।

जस हेजलउडले उत्कृष्ट बलिङ गरेपछि भारतले पावर प्लेमा नै ४ विकेट गुमाएको थियो । शुभमन गिल र अभिषेक शर्माले २० रनको ओपनिङ साझेदारी गरे । गिल ५ रनमा हेजलउडको बलमा आउट भए । सञ्जु सामसन नाथन एलिसको बलमा एलबिडब्लुको शिकार हुन पुगे । कप्तान सूर्यकुमार यादव १ रनमा मैदान बाहिरिँदा तिलक बर्माले खाता खोल्न सकेनन् । 

अक्सर पटेल ७ रनमा रन आउट भए । हर्षित राना ३५ रनमा पभेलियन फर्किए । शिभम् दुवेले ४ रन मात्र बनाउन सके । कुलदिप यादवले खाता खोल्न सकेनन् । अभिषेकले ३७ बलमा ८ चौका र २ छक्कासहित ६८ रन बनाए । अस्ट्रेलियाका लागि हेजलउडले ३ तथा जेवियर बार्टलेट र नाथनले समान २-२ विकट लिए । 

जवाफमा अस्ट्रेलियाले ४० बल बाँकी रहँदा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गर्‍यो । ट्राभिस हेडले १५ बलमा २८ र मिचेल मार्शले ४६ रन जोडे । टिम डेभिड एक, जस इग्लिस २०, मिचेल ओवेनले १४ रन बनाएका थिए । मार्कस स्टोनिस ६ रनमा अविजित रहे । जस्प्रित बुमराह, वरुण चक्रवती र कुलदिप यादवले २-२ विकेट लिए । पाँच खेलको सिरिजको पहिलो टी-२० आई वर्षाका कारण रद्द भएको थियो । तेस्रो खेल आइतबार हुनेछ ।