
काठमाडौं । अखिल नेपाल फुटबल संघ -एन्फाले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई निलम्बन गरेको छ ।
शुक्रबार भर्चुअल माध्यमबाट बसेको एन्फाको आपतकालीन कार्यसमिति बैठकले खड्कालाई आगामी साधारण सभासम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो । करिब दुई साताअघि कार्यवाहक अध्यक्षको रूपमा खड्काले महासचिव किरण राईलाई निलम्बन गरेका थिए । त्यसपछि राईले आजै आपतकालीन बैठक बोलाउँदै वरिष्ठ उपाध्यक्ष खड्कामाथि अनुशासनको कारबाही गर्ने एजेन्डा पेस गरेका थिए ।
एन्फाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, खड्काले संघको विधान विपरीत कुनै वैधानिक अधिकार बिना संघको लेटरहेड, छाप र चलानी नम्बर दुरूपयोग गरेको, महासचिवको निलम्बनबारे दुष्प्रचार गर्ने कार्य गरेको र विभिन्न समयमा पत्रकार सम्मेलनमार्फत संघ तथा पदाधिकारीहरूमाथि निराधार आरोप र गाली गलोज गरेको आरोप लगाइएको छ ।
त्यसैगरी, खड्काले 'सी' डिभिजनका क्लबहरूमा बिना प्रमाण खेल मिलेमतोको आरोप लगाएको, साथै फिफा, एएफसी लगायतका अन्तर्राष्ट्रिय निकायहरूमा पत्राचार गरी संघको विधान विपरीत गतिविधि गरेको एन्फाको आरोप छ । एन्फाले खड्काको यस कार्यलाई गम्भीर अनुशासन उल्लंघनको रूपमा व्याख्या गर्दै एन्फा विधानको धारा ३८ को १४ बमोजिम आगामी साधारण सभासम्मका लागि निलम्बन गरिएको जनाएको छ ।