आईसीसी विश्वकप लिग २ मा नेपालको फेरि निराशाजनक प्रदर्शन

कार्तिक १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
आईसीसी विश्वकप लिग २ मा नेपालको फेरि निराशाजनक प्रदर्शन

काठमाडौं । आईसीसी विश्वकप लिग २ मा खराव लयमा रहेको नेपालले फेरि निराशाजनक प्रदर्शन गरेको छ । यूएई भ्रमणका क्रममा नेपाल घरेलु टोलीसँग ५ विकेटले स्तब्ध भएको हो ।

अघिल्लो खेलमा अमेरिकासँग १ सय ६ रनको फराकिलो हार बहोरेको नेपाल कप्तान रोहित पौडेलको शतकका बाबजुद हारबाट जोगिन सकेन ।

दूबईस्थित आईसीसी एकेडेमीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो ।

ओपनर कुशल भुर्तेल ६ रन बनाएर हैदर अलीको बलमा बोल्ड भए । भीम सार्की ३, आसिफ शेख ३५, आरिफ शेख २७ र दीपेन्द्रसिंह ऐरी २३ रनमा आउट भए । गुल्सन झाले रनको खाता खोल्न सकेनन् । सोमपाल कामी ६ रनमा हिटविकेट भए । रोहितले सर्वाधिक १ सय ९ रनको शतकीय योगदान दिए । करण केसी १३ रनमा बाहिरिए ।

यूएईका लागि जाहिद अलीले ४ र जुनेद सिद्दकीले ३ विकेट हात पारे ।

२ सय ३४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको यूएईले ४३ ओभर ३ मा ५ विकेट गुमाएर जित पुरा गर्‍यो ।

पहिलो विकेटका लागि अलिसान सराफु र आर्यन्श शर्माले ६३ रनको साझेदारी गर्दै यूएईलाई राम्रो सुरुवात दिलाए । सराफु ४५ रनमा आउट भए । कप्तान राहुल चोपडा १५ र मोहम्मद वासीम २६ रनमा बाहिरिए । शर्माले ९८ बलमा १० चौका र ३ छक्कासहित ९८ रनको म्याच विनिङ नक खेले । शतकबाट २ रनले पछि परेका शर्मालाई सन्दीप लामिछानेले कट एन्ड बोल्ड गरेका थिए । ध्रुव पराशर १६ रन र जाहिद अली ११ रनमा नटआउट रहे । नेपालका लागि सन्दीपले २ तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट हात पारे ।

यससँगै यूएईले लगातार ३ खेलको जितविहीन यात्रामा पूर्णविराम लगाएको छ । लिग टु तालिकाका यूएईले १८ खेलमा ४ जितसहित ८ अंक जोडेको छ । ऊ तालिकाको पुछारमा छ । समान खेलमा १२ अंक जोडेको नेपाल पुछारबाट दोस्रो स्थानमा छ ।

अब नेपालले शनिबार अमेरिकासँग प्रतिस्पर्धा गर्ने छ भने सोमबार यूएई र अमेरिका आमने सामने हुने छन् । नेपालले यूएईसँगको दोस्रो खेल बुधबार खेल्ने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.