
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक प्रहार गरेका छन् । उनको शतकका बाबजुद नेपालले जित भने हात पार्न सकेन ।
आईसीसी विश्वकप लिग टू अन्तर्गत यूएईविरुद्धको खेलमा रोहितले आफ्नो करियरको दोस्रो एकदिवसीय शतक पुरा गरेका हुन् । उनी नेपालका लागी एकदिवसीय क्रिकेटमा दुई शतक प्रहार गर्ने पहिलो ब्याटर समेत हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय नेपालका लागि ८ खेलाडीले कुल ९ शतक प्रहार गरेका छन् । जस मध्य रोहित नाममा मात्र दुई शतक समेल छन् ।
उनले १ सय २५ बलमा ५ चौका र १ छक्का सहित शतक पुरा गरे । यस खेलमा उनले १ सय ३० बलमा ५ चौका र २ छक्का सहित १ सय ९ रनको शानदार इनिङ्स खेले । उनी ४८ औं ओभरको अन्तिम बलमा क्याच आउट भएका थिए । एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितले ७४ खेलको ७० इनिङ्समा २ शतक र ११ अर्धशतक सहित १९ सय ६२ रन बनाएका छन् । उनी यस प्रारुपमा नेपालका लागि सर्वाधिक रन बनाउने ब्याटर समेत हुन् ।
यसअघि रोहितले २०२२ मार्च २५ मा घरेलु मैदान टीयू क्रिकेट मैदमा पपुवा न्यूगिनी विरुद्ध १ सय ७ बलमा ७ चोका र ४ छक्का सहित १ सय २६ रनको शतकीय इनिङ्स खेलेका थिए ।