
काठमाडौं । अमेरिकी क्रिकेटर मिलिन्द कुमारले काठमाडौं गोर्खाजबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल खेल्ने भएका छन् । गोर्खाजले आज सामाजिक सञ्जालमार्फत् मिलिन्द कुमारलाई टिममा भित्र्याएको जनाएको हो ।
गोर्खाजले मिलिन्दलाई तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
भारतीय मुलका ३४ वर्षीय मिलिन्द इन्डियन प्रिमियर लिग आईपीएलमा रोयल च्यालेञ्जर बंग्लोर र दिल्ली डेयरडेभिल्सको टोलीमा समेत सामेल थिए । उनीसँग मेजर लिग क्रिकेट खेलेको अनुभव समेत छ । दायाँ हाते अलराउण्डर मिलन्दले अमेरिकाका लागि २१ टी-२० आईको १७ इनिङ्समा १ अर्धशतकसहित ३ सय २२ रन बनाएका छन् । अफ स्पिनर मिलिन्दको नाममा १२ टी-२० अन्तर्राष्ट्रिय विकेटसमेत छन् । उनले ९० टी २० खेलमा १६ सय १६ रन र १७ विकेट हात पारेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले २० खेलमा ८ सय २३ रन बनाउनका साथै २७ विकेटसमेत लिएका छन् ।
करण केसीको कप्तानी र मोन्टी देशाइको प्रशिक्षणमा नयाँ नाम, लोगो र रणनीतिसहित मैदान उत्रिन लागेको गोर्खाजले यसअघि नै दक्षिण अफ्रिकी मुलका इंग्लिस क्रिकेटर रिकार्डो भास्को-नेसेलोस र नामिबियाका कप्तान जेरार्ड एरास्मसलाई विदेशी खेलाडीको रुपमा हस्ताक्षर गरिसकेको छ । दोस्रो संस्करणको एनपीएल आगामी मंसिर १ देखि २७ गतेसम्म हुँदै छ ।