ईपीएलमा आज चार खेल हुँदै

कार्तिक ८, २०८२ |खेल ब्युरो
ईपीएलमा आज चार खेल हुँदै

काठमाडौं । इङ्लिस प्रिमियर लिग-ईपीएलमा शनिबार चार खेल हुँदैछन् । 

दिनको पहिलो खेलमा चेल्सी र सन्डरल्यान्ड तथा न्यूक्यासल र फूलहमले प्रतिस्पर्धा गर्नेछन् । यी दुवै खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरू हुनेछन् । चेल्सीले घरेलु मैदान स्टामर्फड ब्रिजमा सन्डरल्यान्डलाई स्वागत गर्न लागेको हो । 

यदि यो खेलमा जित हात पारे चेल्सी शीर्ष चारमा उक्लनेछ । तालिकाको पाँचौं स्थानमा रहेको चेल्सीको ८ खेलबाट १४ अंक छ । सबै प्रतिस्पर्धामा गरी चेल्सी पछिल्ला चार खेलमा अपराजित छ । प्रिमियर लिगमा यसअघि चेल्सीले लिभरपुललाई २-१ र नटिङ्गम फरेस्टलाई ३-० गोलले पराजित गरेको थियो । यी चार खेलमा एन्जो मरेस्काको टिमले एघार गोल गर्दा मात्र दुई गोल खाएको छ । 

यता सन्डरल्यान्डले ८ खेलमा कुल १४ अंक बटुलेको छ । यसै वर्ष पुन शीर्ष डिभिजनमा फर्किएको सन्डरल्यान्डले यसअघिको खेलमा उल्भ्स माथि २-० गोलको जित हात पारेको थियो । चेल्सी र सन्डरल्यान्ड प्रिमियर लिगमा २०१७ पछि पहिलो पटक आमने-सामने हुँदैछन् । सवा ८ बजे नै हुने अर्को खेलमा १५ स्थानको न्यूक्यासलले आफ्नो मैदानमा १६ स्थानमा रहेको फूलहमसँग खेल्न लागेको हो । 

दुबै टिमले सुरूवात ८ खेलमा समान दुई खेल जितेका छन् । यस्तै म्यानचेस्टर युनाइटेडले ब्राइटनको सामना गर्दैछ । ओल्ड ट्राफोर्डमा हुने यो खेल राति सवा १० बजे हुनेछ । अघिल्लो खेलमा लिभरपुलमाथि २-१को सनसनीपूर्ण जित हात पारेको युनाइटेड उच्च मनोवलमा छ । 

युनाइटेडले एनफिल्डमा झन्डै एक दशकपछि लिरभपुललाई हराएको थियो । नवौं स्थानमा रहेको युनाइटेडको १३ अंक छ । दशौं स्थानमा रहेको ब्राइटनले पनि न्यूक्यासललाई हराएको थियो । युनाइटेडसँग स्तब्ध भएको साविक विजेता लिभरपुल ब्रेन्डर्फडसँग मैदान उत्रँदा पुनरागमनको प्रयासमा हुनेछ । यो खेल राति पौने १ बजे सुरू हुनेछ । 

जित हात पारे लिभरपुलले शीर्ष स्थानमा रहेको आर्सनलसँगको दुरी एक अंकमा झार्नेछ । आर्सनलको १९ अंक छ । तेस्रो स्थानको लिभरपुलको १५ अंक छ । १६ अंकसहित म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ । प्रिमियर लिग तपाईंले कान्तिपुर म्याक्स एचडी, म्याक्सको एप र कान्तिपुर टिभीको वेभसाइटमा प्रत्यक्ष हेर्न सक्नु हुनेछ ।