
काठमाडौं । जेन-जी प्रतिनिधिहरूले सरकारविरूद्ध आक्रोश व्यक्त गरेका छन् ।
शनिबार माइतीघर मण्डलामा शान्तिपूर्ण प्रर्दशनका लागि भेला भएका जेन-जी प्रतिनिधिहरूलाई प्रहरीले पक्राउ गरेपछि उनीहरू सरकारविरूद्ध खनिएका हुन् । शनिबार अपराह्न उनीहरूले पत्रकार सम्मेलन गरी जेन-जीहरूलाई एकताबद्ध गराउने अभियानमा जुटेकाहरूलाई सरकारले पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् ।
सरकारले शान्तिपूर्ण रूपमा भेला भएका जेन-जीहरूलाई पक्राउ गरेकाले उनीहरूको रिहाई तत्काल नभए कडा कदम चाल्न आफूहरू बाध्य हुने जेन-जी प्रतिनिधि मञ्जना राईले बताउनु भयो । उहाँले जेन-जीले बनाएको सरकारले उनीहरूको मागअनुसार काम गर्न नसकेको गुनासो पनि गर्नुभयो ।
राईले भन्नुभयो, ‘अब हामी नयाँ कदम चाल्न बाध्य हुनेछौं । हामी पछि हट्ने छैनौं यही चेतावनी दिन चाहन्छौं । थुनिएका साथीहरू रिहाई नभएसम्म हामी अर्को कदम चाल्न बाध्य छौं ।’ जेन-जी प्रतिनिधिहरूले सरकारले आफूहरूमाथि दमन गरेको भन्दै सैह्य नहुने चतावनी समेत दिएका छन् ।
भोजपुरका जेन-जी प्रतिनिधि सागर तामाङले सरकारका दमनकारी नीतिविरूद्ध लाग्न पनि सबैलाई आह्वान गर्नुभयो । उहाँले भन्नुभयो,‘हामीलाई युनिफाईड पनि हुन नदिने । यो कस्तो सरकार हो ? युनिफिकेसनको क्याम्पियन पनि रोक्नुपर्ने ? अब अहँ हुँदैन । जे-जे गर्नुपर्छ, हाम्रो मागहर" छिटो पूरा हुनुपर्छ । सरकारले केही गर्दैन, हाम्रो साथीहर"लाई यसरी दमन गरिन्छ भने हामी सहदैनौं । अझ कहाँ-कहाँ जाने हो, गर्ने हो । त्यहीं भएर आज हामी यही गर्दैछौं हाम्रो युनिफिकेसन क्याम्पियन जबसम्म पूरा हुँदैन, जे-जे गर्नुपर्छ लाग्ने हो । सबैले आफ्नो सबै कुरा छोडेर युनिफाईड हुनुपर्छ देशका लागि ।’
जेन-जी आन्दोलनले बनाएको सरकारले उनीहरूमाथि नै दमन गरेकाले त्यसको प्रतिरोधमा उत्रनुपर्ने बेला आएको तामाङको भनाइ थियो । उहाँले आफूहरूको माग सम्बोधन गराउन आन्दोलनलाई निरन्तर अघि बढाउने योजनामा रहेको समेत बताउनु भयो ।