
काठमाडौं । नेपालले काभा पुरूष नेसन्स कपमा पहिलो जित दर्ता गरेको छ ।
बंगलादेशको मिरपुरमा आयोजना भइरहेको प्रतियोगितामा नेपालले शुक्रबार माल्दिभ्सविरूद्ध ३-० को जित दर्ता गरेको हो । दुवै टोलीको कमजोर डिफेन्सका कारण कुनै र्याली लामो हुन सकेन्। सर्भिसमा सुधारको खाँचो देखिएको नेपाली टिमले पहिलो सेटमा २५-२१ को जित दर्ता गरेको थियो ।
सुरूआतबाटै लगातार अग्रता बनाएको नेपाल माल्दिभ्सको कमजोर अट्याकविरूद्ध सहजै हाबी हुन सक्यो । पहिलो सेटमा झैं दोस्रो सेटको सुरूआतबाटै नेपालले लिड लिएको थियो। माल्दिभ्सले कमब्याकका प्रयास गरे पनि नेपालले २५-२३ को जित आत्मसाथ गर्न सक्यो ।
२-० ले नेपाल अघि पुगेपछि दबाबमा आएको माल्दिभ्सले तेस्रो सेटमा भने राम्रो सुरूआत गर्यो । तेस्रो सेटको आधा समयमा प्रतिस्पर्धात्मक बनेपछि अन्तिममा अट्याकमा सुधार गरेर नेपाल जित निकालेको हो । २३-१७ अघि-अघि रहेको समयमा युवा खेलाडीलाई अवसर दिएका प्रशिक्षक भरत यादवको टोलीले २५-१८ को जित निकालेको हो ।
यो जितसँगै नेपालले प्रतियोगितामा चार अंक बनाएको छ । पहिलो खेलमा तुर्कीमेनिस्तानसँग सोझो सेटमा पराजित नेपाल बिहिबार बंगलादेशसँग पाँच सेटमा पराजित भएको थियो । जितका बाबजुद नेपालको सर्भिस र डिफेन्समा सुधार देखिएको छैन। अब नेपालले आइतबार अफगानिस्तानको सामना गर्नेछ ।