
मनाङ । मनाङमा लेक लागेर दुई जनाको मृत्यु भएको छ ।
मनाङको नार्पाभूमि गाउँपालिका-४, काङ्ला फेदी क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु भएको हो । मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार लमजुङ क्व्होला सोथर गाउँपालिका-४, भुजुङका अन्दाजी ४८ वर्षीय डिलबहादुर गुरूङको शनिबार मृत्यु भएको हो ।
काङला फेदीबाट पर्यटकको सामान बोकेर फर्कने क्रममा उनलाई लेक लागेको थियो । मृतकका भाइ केशबहादुर गुरूङले प्रहरीलाई बताएअनुसार शनिबार बिहान करिब ६ बजेनै डिलबहादुरलाई लेक लागेको थियो ।लेक लागेर विरामी परेका गुरूङको हेलिकप्टरमार्फत उद्धार गरी पोखरास्थित मणिपाल अस्पताल पठाइएको भए पनि अस्पताल पुग्दा चिकित्सकले उनको मृत्यू भएको बताएका थिए ।
यता पर्यटकको भारी बोकि फर्कने क्रममा नार्पाभुमि गाउँपालिका-४ याकखर्कमा एक जनाको मृत्यू भएको छ । पर्यटकको भारी बोकेर फर्कंदै गरेका नुवाकोट जिल्ला किस्पाङ घर भएका अन्दाजी ४९ वर्षीय सम्बा घलेको पनि लेक लागेर मृत्यू भएको साम्वाका ज्वाई मारिस तामाङलाई उदृत गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।
शुक्रबार दिउँसो ३ बजेतिर उनको मृत्यू भएको खबर शनिबार दिउँसो दुई बजे प्रहरीलाई प्राप्त भएको प्रजिअ पौडेलले बताउनुभयो । र, मौशम खराब भएका कारण सो ठाउँमा अहिले उद्धार गर्न सकिएको छैन । च्याखु प्रहरी चौकिबाट झन्डै १२ घण्टा पैदल यात्रा पछि मात्रै सो स्थानमा पुग्न सकिने भएकाले खबर आए लागतै प्रहरी त्यसतर्फ पठाउन लागिएको पनि प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
यो काङ्लापासका लागस जाने पर्यटकीय रूट हो ।