
काठमाडौं । यूएईमा आइतबारबाट सुरू हुने आईसीसी विश्वकप लिग टूका लागि १५ सदस्यीय घरेलु टोली घोषणा भएको छ।
अमेरिका र नेपालसँगको शृंखलाको लागि इमिरेट्स क्रिकेटले मोहम्मद वासिमलाई कप्तानबाट हटाएर राहुल चोप्राको नेतृत्वमा टोली घोषणा गरेको हो । अघिल्लो हप्ता ओमानमा सम्पन्न भएको आईसीसी टी-२० विश्वकपमा छनोट भएपछि उसले कप्तानसहित तीन खेलाडी परिवर्तन गरेको छ ।
विश्वकप छनोट खेलेका १२ खेलाडीले निरन्तरता पाएका छन् । यी खेलाडीमा कप्तान राहुलसँगै अलिशान शर्राफ, आर्यांश शर्मा, ध्रुव पराशर, हैदर अली, हर्षित कौशिक, जुनैद सिद्दिकी, मुहम्मद वसीम, सिमरनजित सिंह, मुहम्मद इरफान रोहिद खान र जाहिद अली रहेका छन् । राष्ट्रिय टिममा समावेश तीन नयाँ खेलाडीमा बासिल हामिद, जोनाथन फिगी, मुहम्मद फारूक रहेका छन् ।
लिग-टू का खेल आइतबारदेखि दुबई अन्तर्राष्ट्रिय रंगशाला र आईसीसी एकेडेमी, ओभल-१, दुबईमा हुनेछन् । यूएईले सिरिजको पहिलो खेलमा मंगलबार अमेरिकाविरूद्ध खेल्नेछ । बिहीबार, नेपालविरूद्ध र सोमबार फेरि अमेरिकाविरूद्ध खेल्नेछ।
सिरिजको लागि नेपालले यसअघि नै टोली घोषणा गरिसकेको छ भने अमेरिकाको टोली घोषणा हुन बाँकी छ। प्रतियोगिताको पहिलो खेलमा नेपाल र अमेरिका आइतबार आमने सामने हुनेछन्। सबै खेल नेपाली समय अनुसार सवा ११ बजे सुरू हुनेछन् ।