
काठमाडौं । लियोनल मेसीले एमएलएस साइड इन्टर मायामीसँगको सम्झौता नवीकरण गरेका छन् ।
अर्जेन्टाइन फरवार्ड मेसी सन २०२८ सम्म नर्थ अमेरिकन लिगमा रहने मायामीले घोषणा गरेको हो । आठ पटकका बलुन दो विजेता मेसीले यसअघि इन्टर मायामीसँग सम्भवत आफ्नो करियरको अन्तिम क्लब हुने बताएका थिए । तर ३८ वर्षीय मेसीले उमेरले कुनै फरक नपार्ने भन्दै तत्काल सन्यास लिने संकेत देखाएका छैनन् ।
मायामीले जारी गरेको विज्ञप्तिमा क्लबका सह मालिक डेभिड बेक्हमले आफुहरूको लक्ष्य, क्लब र फ्लोरिडा सहरमा सर्वश्रेष्ठ खेलाडी ल्याउने रहेको र मेसीसँगको सम्झौता त्यहिनै रहेको उल्लेख गरेका छन् । सन २०२२ को फिफा विश्वकप विजेता मेसी यो सिजन लिगको सर्वाधिक गोलकर्ताको सुचीको पहिलो स्थानमा छन् । उनले २९ गोल गरिसकेका छन् ।
मायामीले इस्टन कन्फरेन्समा तेस्रो स्थानमा लिग टुंग्याएको थियो । मायामीले भोलि बिहान नास्भिल एससीसँग एमएलएस कप प्ले अफको पहिलो चरणमा प्रतिस्पर्धा गर्ने तालिका छ । लिगले हिजो सार्वजनिक गरेको एम भि पी प्लेयरको सुचीको पाँच खेलाडी मध्येमा मेसी पनि एक छन् ।
मेसीले नर्थ अमेरिकामा फुटवल संकटमा रहेको समय सन २०२३ मा पहिलो पटक मायामीसँग सम्झौता गरेका थिए । उनको आगमनसँगै क्लबको भ्यालुएसन दोब्बर भएको बताइएको छ। सन २०२६ को फिफा विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा हुँदैछ ।