
काठमाडौं । लोसपालगायत पाँच दलिय गठबन्धनले मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार सोनलले छठपछि विश्वासको मत लिने र मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेका छन ।
गत असोज २९ गते मुख्यमन्त्री र त्यसको दुई दिनपछि दुई जना बिना विभागीय मन्त्री नियुक्त भएको एक साता पछि शुक्रबार रौतहटको चन्द्रपुरमा बसेको पाँच दलिय गठबन्धनकाे बैठकले यस्तो निर्णय गरेको हो । विभिन्न अडकलबाजी भइरहेको बेला मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार पहिला विश्वासको मत लिने र त्यसलगतै मन्त्रिपरिषद् विस्तार गर्ने दलहरूको तयारी छ ।
मन्त्रालय बाँडफाँडको टुंगो समेत लागि सकेको माओवादी संसदीय दलका नेता भट्टराईले जानकारी दिनुभयो । दुई जना निलम्बनबाहेक लोसपाका सोनलको नेतृत्वको सरकारमा जसपा नेपालको १८, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, लोसपाको ८ र नेकपा एकीकृत समाजवादीका ७ जनासहित ५५ जना प्रदेश सांसद छन् । १०५ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५३ सांसद भए पुग्छ ।
तर, जनमत पार्टीबाट प्रदेश सभा सदस्य रहेका निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साहले जनमत फुटेर बनेको जनस्वराज पार्टीमा सनाखत गरिसक्नु भएको छ । यद्यपि, जनमत पार्टीको विभाजन सम्बन्धी निर्वाचन आयोगको निर्णयमा सर्वोच्च अदालतले तत्काल रोक लगाएको हुनाले दल विभाजनले अदालतबाट आधिकारिता नपाउन जेलसम्म जनस्वराज पार्टीमा सनाखत गरे तापनि जनमत पार्टीको संसदीय दलकै ह्वीप लाग्नेछ ।