
काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले क्यानडासँग चलिरहेका सबै व्यापार वार्ता तत्काल समाप्त गर्ने घोषणा गर्नुभएको छ ।
राष्ट्रपति ट्रम्पले क्यानडाले पूर्वराष्ट्रपति रोनाल्ड रेगनको नाम र वक्तव्यको दुरूपयोग गर्दै करविरूद्धको विज्ञापनमा गलत उद्धरण प्रस्तुत गरेको आरोपसमेत लगाउनुभएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत क्यानडाको गम्भीर र अनुचित व्यवहारका कारण सबै व्यापारिक नीतिहरू अहिलेबाटै प्रतिबन्धित भएको बताउनु घोषणा गर्नुभएको हो ।
उहाँले रोनाल्ड रेगन फाउन्डेसनले क्यानाडाले छलपूर्वक एउटा विज्ञापनमा नक्कली सामग्री प्रयोग गरेको पुष्टि भएको दाबी गर्नुभएको छ । यो घटनाले उत्तर अमेरिकी छिमेकी यी दुई राष्ट्रबीचको सम्बन्धमा नयाँ असामान्य मोड ल्याएको छ ।
यसैबीच, रोनाल्ड रेगन फाउन्डेसनले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै क्यानाडाको ओन्टारियो प्रान्त सरकारले सन् १९८७ अप्रिलमा रेगनले राष्ट्रलाई दिएको व्यापारसम्बन्धी रेडियो सम्बोधनमा छनोट गरिएको अडियो र भिडियो अंश प्रयोग गरेको पुष्टी गरेको छ । फाउन्डेसनले उक्त विज्ञापन भ्रामक भएको भन्दै यसको कानुनी विकल्पहरूको समीक्षा भइरहेको जनाएको छ ।
ट्रम्पले उक्त विज्ञापन अमेरिकी सर्वोच्च अदालतमा आफ्नो व्यापार शुल्कसम्बन्धी निर्णयमा प्रभाव पार्ने उद्देश्यले बनाइएको दाबी गर्नुभएको छ । अमेरिका र क्यानडाले अहिले पनि विद्यमान उत्तरअमेरिकी व्यापार सम्झौताअन्तर्गत व्यापार गर्दै आएका छन्
जसअन्तर्गत दुवै देशबीचको करिब ८५ प्रतिशत सीमापार व्यापार शुल्कमुक्त छ । तर ट्रम्प प्रशासनद्वारा स्टिल, एल्युमिनियम र अटो उद्योगमा लगाइएका विश्वव्यापी भन्सार शुल्कहरूले क्यानाडाको अर्थतन्त्रमा ठूलो प्रभाव परेको छ । यसका कारण हजारौँ रोजगारी गुम्न पुगेको र उद्योगहरू दबाबमा परेका छन् ।