काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट-जर्मेन पीएसजीले दुई गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै स्ट्रासबर्गसँग ३-३ को रोमाञ्चक बराबरी गर्दै शीर्षस्थान कायम राखेको छ ।
स्ट्रासबर्गका जोक्विन पानिचेलीको दुई गोल र डिएगो मोरियराको प्रहारले पाहुना टोलीलाई बलियो अवस्थामा पुर्याए पनि पीएसजीका गोनकालो रामोसको पेनाल्टी र सेनी मायु लुको गोलले खेल बराबरीमा टुंगियो । खेलको छैटौं मिनेटमै ब्राड्ली बारकोलाले डिजाएर डोएको पासमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर त्यसपछि ग्वेलाको क्रसमा पानिचेलीले हेडमार्फत् बराबरी गोल फर्काए ।
पहिलो हाफको अन्त्यतिर भ्यालेन्टिन बार्कोको सुन्दर पासमा मोरियराले गोल गर्दै स्ट्रासबर्गलाई अग्रता दिलाए । दोस्रो हाफ सुरू भएको चार मिनेटमै मोरियराको पासमा पानिचेलीले दोस्रो गोल थपेपछि पीएसजी ३-१ ले पछि परेको थियो ।
तर ५९औं मिनेटमा स्ट्रासबर्गका गोलरक्षक माइक पेन्डर्सले डोएलाई फाउल गरेपछि पीएसजीले पेनाल्टीको अवसर पायो । जसलाई रामोसले सहजै गोलमा परिणत गरे । त्यसपछि खेलमा पीएसजीले दबाब बढायो । ली काङ-इनको प्रहार पोस्टमा ठोक्किएको थियो । एनजान्टुको लामो दूरीको प्रयास पनि थोरैले बाहिरिएको थियो ।
बराबरीपछि पीएसजी शीर्षस्थानमा यथावत् छ । उसको ८ खेलमा १७ अंक छ । समान खेलमा १६ अंक रहेको स्ट्रासबर्ग दोस्रो स्थानामा छ ।