राजनीतिक दल खोल्ने ढुंगानाको घोषणा, माग पूरा नभएसम्म चुनावमा नजाने

कार्तिक १, २०८२ |कान्तिपुर टीभी संवाददाता
राजनीतिक दल खोल्ने ढुंगानाको घोषणा, माग पूरा नभएसम्म चुनावमा नजाने

काठमाडौं । जेन-जी आन्दोलनका अगुवाका रूपमा चर्चामा रहेका मिराज ढुंगाना राजनीतिक दल खोल्ने घोषणा गर्नुभएको छ। तर आफ्ना माग पूरा नभएसम्म आफूहरू निर्वाचनमा नजाने उहाँले बताउनुभयो । 

सरकार जनताको म्यान्डेटअनुसार चल्न नसकेको भन्दै ढुंगानले संविधान संशोधनको विकल्प नभएको समेत बताउनुभएको छ । मिराज ढुंगानाले दल खोल्ने घोषणा गर्नुभएको छ। तर निर्वाचनमा सहभागि हुनका लागि भने आफ्ना केही सर्त अघि सार्नुभएको छ। 

प्रत्यक्ष निर्वाचित कार्यकारी र विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग पूरा नभएसम्म आफ्नो दल निर्वाचनमा भाग नलिने ढुंगानाको भनाइ छ। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका ढुंगानाको समूहले दलको नाम तय भइनसकेको बताउनुभयो। 

दलको नाम, विधानलगायतका विषयमा सबै पक्षसँग सुझाव मागिएको ढुंगानाको भनाइ छ । पार्टी गठनका लागि वार्ता टोलीसमेत गठन गरिएको ढुंगानाले जानकारी दिनुभएको छ । यस्तै, निर्वाचनमा सहभागी हुन कसैलाई रोक नलगाउन नसकिने उल्लेख गर्दै उहाँले दलहरूलाई सुध्रिएर आउन आग्रह गरिएको बताउनुभयो । 

ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकार चुनावी सरकार भनिएकोमा आपत्ति जनाउँदै वर्तमान सरकार जनताको म्यान्डेटअनुसार अघि बढ्नुपर्ने र संविधान संशोधन नगरी अघि बढ्न नसक्ने स्पष्ट पार्नुभयो । देश जेन-जी पुस्ताको मात्र नभएकाले सबै मिलेर अगाडि बढ्नुपर्ने र शहीदको बलिदानी खेर जान नदिने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.