काठमाडौं । नेपाली पुरुष भलिबल टिम दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारीमा छ ।
घरेलु मैदानमा अभ्यास सम्पन्न गरेको टोलीमा ८ नयाँ खेलाडी छन् भने तीन खेलाडीले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । पुस्तान्तरणको समयमा रहेको भलिबल टोलीसँग अहिले टिम निर्माण र समर्थकको विश्वास जित्ने चुनौती त छ नै राम्रो प्रदर्शनको पनि दबाब छ।
भलिबल देशको सबै क्षेत्रमा खेल्न सकिने राष्ट्रिय खेल हो। सहरदेखि गाउँ गाउँसम्म आयोजना हुने भलिबल प्रतियोगिताबाटै नेपालमा नयाँ खेलाडीको उत्पादन हुने गर्दछ। अहिले राष्ट्रिय टिममा पुगेका ८ खेलाडी यसैगरी आएका हुन्। उनीहरू पनि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियेागिता खेल्न पाउँदा उत्साही छन्।