अछामको मार्कुलाई छाउपडी गोठ मुक्त गाउँ बनाएको नेपाल प्रहरी अमेरिकामा सम्मानित

समुदाय–प्रहरी साझेदारी परियोजना उपयोगी भएको दाबी
कार्तिक १, २०८२ |कान्तिपुर टीभी संवाददाता
अछामको मार्कुलाई छाउपडी गोठ मुक्त गाउँ बनाएको नेपाल प्रहरी अमेरिकामा सम्मानित

अछाम । अछामको चौरपाटी गाउँपालिका-७ मार्कुलाई छाउपडी गोठ मुक्त गाउँ बनाएको नेपाल प्रहरी अमेरिकामा ‘हर्मन गोल्डस्टेइन अवार्ड’बाट सम्मानित भएको छ ।

नेपाल प्रहरीले अछामको दुर्गम गाउँमा छाउपडी प्रथा अन्त्यका लागि सञ्चालन गरेको समुदाय-प्रहरी साझेदारी परियोजनामार्फत अन्तर्राष्ट्रिय अर्वाड प्राप्त गरेको हो । प्रहरीको यो परियोजना विश्वप्रसिद्ध ‘हर्मन गोल्डस्टेइन उत्कृष्ट समस्या-मुखी प्रहरी सेवाको’ उत्कृष्ट परियोजनामा छनोट भएको प्रहरी नायब उपरीक्षक एवं अछामका पूर्व प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले बताउनुभयो । 

प्रहरीका तर्फबाट परियोजना प्रस्तुत गर्ने टोलीमा प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवर, प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारी र प्रहरी निरीक्षक प्रतिमा कार्की अमेरिका गएका थिए । अमेरिकाको विस्कन्सिन राज्यको म्याडिसन सहरमा अक्टोबर १३ देखि १५ सम्म कार्यक्रम भएको हो । 

अमेरिकाको एरिजोना स्टेट विश्वविद्यालयको आयोजनामा भएको नेपाल प्रहरीले ‘सामाजिक रूपान्तरणका लागि समुदाय-प्रहरी सहकार्यः अछामको मार्कु गाउँमा छाउपडी प्रथा अन्त्य अभियान’ सम्बन्धी प्रस्तुतिकरण गरेको थियो । 

प्रहरीले समुदायमै काम गरेर प्राप्त गरेको पहिलो अन्तराष्ट्रिय अवार्ड ‘हर्मन गोल्डस्टेइन अवार्ड’ रहेको र यसले नेपाल प्रहरीमा इतिहास रचेको भण्डारीले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.