काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फाले इरान र भारतसँगको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ ।
सावित्रा भण्डारी 'साम्बा'को कप्तानीमा रहेको टिममा सजनी थोकर, हिराकुमारी भुजेल र दीपा शाहीले पुनरागमन गरेका छन् । हिरा र दीपा गत वर्षको साफ महिला च्याम्पियनसिपका क्रममा घाइते भएका कारण टिमबाट बाहिर थिए । पूर्णिमा राई र मीना देउवाले पहिलोपटक सिनियर टिममा स्थान बनाएका छन् । यो जोडी यसअघि यू-२० टोलीमा सामेल थिए ।
विमला चौधरी, अनिता केसी र चन्द्रा भण्डारी भने टिमबाट बाहिरिएका छन् । यी खेलाडीले एएफसी एसियन कप छनोट खेलेका थिए । हालै चोटमुक्त भएकी गीता रानाले पनि टिममा स्थान बनाउन सकिनन् । नवनियुक्त प्रशिक्षक नवीन न्यौपानेको नेतृत्वमा नेपालले पहिलो पटक खेल्न लागेको हो ।
नेपालले भारतमा यही कात्तिक ७ गते इरान र कात्तिक १० गते भारतसँग मैत्रीपूर्ण खेल खेल्ने छ । नेपालको टोलीमा कप्तान सावित्रा भण्डारीसँगै अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा र बिमला बिक रहेका छन् ।
यस्तै दीपा शाही, हिरा कुमारी भुजेल, मनमाया दमाई, मीना देउवा, निशा थोकर र प्रीति राई पनि २३ सदस्य टोलीमा सामेल गरिएको छ । प्रतिक्षा चौधरी, पूजा राना, पूणिर्मा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, र सबिता राना मगर पनि टिममा छन् । सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरू लिम्बु र उषा नाथलाई पनि टिममा सामेल गरिएको छ ।