कारागारबाट भागेका झन्डै ५ हजार कैदीबन्दी नफर्किएपछि प्रहरीद्वारा खोजी अभियान तीब्र

आश्विन २६, २०८२ |किरण पौडेल
कारागारबाट भागेका झन्डै ५ हजार कैदीबन्दी नफर्किएपछि प्रहरीद्वारा खोजी अभियान तीब्र

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका झन्डै ५ हजार कैदीबन्दी नफर्किएपछि प्रहरीले उनीहरुको खोजी अभियान तीब्र पारेको छ । 

फरार कैदीबन्दी पुनः आपराधिक गतिविधिमा संलग्न रहेको पाइएपछि सुरक्षा चुनौती बढेको ठहर गर्दै खोजी अभियान तीब्र पारिएको हो । प्रहरीले सतर्क रहन र शंकास्पद गतिविधि देखे तत्काल जानकारी गराउन आग्रह पनि गरेको छ।

ललितपुरको नक्खु कारागारबाट २४ भदौमा भागेका काभ्रेको पनौती १२ का सन्तबहादुर तामाङले गत असोज २ गते श्रीमती जमुनाको हत्या गरे । उनी जबर्जस्ती करणी अभियोगमा चार वर्षअघि कारागार चलान भएका थिए । नख्खु कारागारबाटै भागेका २५ वर्षीय आकाश मगरले गत १३ असोजमा काठमाडौंको मनमैंजु बस्ने सुरज तामाङको हत्या गरे । उनी लुटपाट तथा डकैती मुद्दामा जेल परेका थिए ।

यस्तै, २४ भदौमै दाङको तुलसीपुर कारागारबाट भागेका तुलसीपुर उपमहानगर-५ का खिमबहादुर विकले ११ असोजको राति स्थानीय गौतम सार्कीलाई खुकुरी प्रहार गरे। उनी कर्तव्य ज्यान मुद्दामा २५ वर्षको कैद सजाय भोगिरहेका थिए । जेन-जी आन्दोलनका कारण उत्पन्न परिस्थितिका बीच देशभरका विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरु यसरी फेरि अपराधिक गतिविधिमा संलग्न हुने क्रम बढेपछि समाजमा त्रास बढेको छ।

प्रहरीले आफ्नो तर्फबाट यस्ता फरार कैदीबन्दीको खोजी अभियान तीब्र पारेको बताएको छ। २४ गते देशभरका २८ कारागार र ९ वटा बालसुधार गृहबाट १३ हजार ५ सय ५३ कैदीबन्दी भागेका थिए । तीमध्ये कारागारका ८ हजार ६ सय ७० र सुधारगृहका ३ सय ४१ जना फर्किसकेकोमा झन्डै ५ हजार जना अझै बाहिरै रहेको कारागार विभागको तथ्यांक छ । 

हत्या, जबर्जस्ती करणी, डाँका तथा वन्यजन्तु अपराधमा सजाय काटिरहेकाहरु कारागारबाहिर हुँदा सुरक्षा चुनौती बढेको हो । आन्दोलनलगत्तै भदौ २६ गते प्रहरी महानिरीक्षकको कार्यालयले सूचना जारी गर्दै भागेका कैदीबन्दीलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालय, इकाई वा अन्य सुरक्षा निकायको कार्यालयमा यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको थियो । 

त्यसपछि कारागार व्यवस्थापन विभागले असोज ११ गते सूचनामार्फत असोज २० गतेभित्र कारागार फर्कन आग्रह गरेको थियो । विभागले कैदीबन्दी लुकाउने व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको थियो । 

यस्तै, कैदीबन्दी फिर्ता ल्याउन फरार बन्दी खोजी तथा पक्राउ कार्यदलसमेत गठन गरिएको विभागले छ । भागेका कैदीबन्दीमा विदेशी पनि छन् । तिनीहरुलाई कालोसूचीमा राख्न कारागार विभागले अध्यागमन विभागलाई पत्राचार गरिसकेको छ । 

मौका दिँदा पनि नफर्कने कैदीबन्दीलाई ५ वर्षसम्म कैद वा ५० हजार जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था कारागार व्यवस्था ऐन २०७९ मा छ। भागेका कैदीबन्दी कारागारको भौतिक संरचना तोडफोडमा समेत संलग्न रहेको पाइए १० वर्षसम्मको कैद र एक लाख रुपैयाँ जरिवानाको व्यवस्था छ ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।