जेन-जीका नाममा उद्योगी व्यवसायीलाई निशाना बनाउने क्रम बढ्यो, ऊर्जा व्यवसायी त्रसित

सिन्धुपाल्चोकका १४ जलविद्युतको १० प्रतिशत निःशुल्क सेयर माग्दै पत्र
आश्विन २६, २०८२ |सुदिल पोखरेल
जेन-जीका नाममा उद्योगी व्यवसायीलाई निशाना बनाउने क्रम बढ्यो, ऊर्जा व्यवसायी त्रसित

काठमाडौं । जेन-जी ग्रुप भन्दै विभिन्न समूहले व्यवसाय तथा उद्योग प्रतिष्ठानहरुलाई निशाना बनाउने क्रम बढेको छ । 

यस्तै समूहले सिन्धुपाल्चोकका १४ वटा जलविद्युत आयोजनामा निःशुल्क सेयर माग गरेपछि ऊर्जा व्यवसायीहरू त्रसित भएका छन् । बलेफी गाउँपालिकामा निर्माण भएका तथा निर्माणाधीन ११ वटा र भोटेकोशी गाउँपालिकाका ३ वटा जलविद्युत आयोजनाको १० प्रतिशत सेयर निःशुल्क माग गर्दै दबाब दिन थालेपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था-इपानले गृहमन्त्रीसँग सुरक्षा माग गरेको छ । 

सिन्धुपाल्चोकमात्र नभई देशका अन्य क्षेत्रमा समेत विभिन्न माग राखेर आयोजना अवरुद्ध गर्ने क्रम बढेको इपानको भनाइ छ । जेन-जी समूहको नाममा १० प्रतिशत निःशुल्क सेयर पाउनुपर्ने माग गर्दै माथिल्लो भोटेकोसी जलविद्युत आयोजना बन्द गराइएको ३१ दिन भयो । 

भदौ २५ गतेदेखि बन्द भएको यो आयोजना सञ्चालनका लागि गत बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले निर्देशन दिए पनि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । आयोजना बन्द हुँदा अहिलेसम्म आयोजनाले ३१ करोड रूपैयाँ गुमाएको छ । योसँगै सिन्धुपाल्चोकका कुल १४ वटा आयोजनामा निःशुल्क सेयरमाग गर्दै पत्र पठाएर दबाब दिने काम भइरहेको ऊर्जा उत्पादकहरु बताउँछन् ।

देशमा जडित ३७ सय मेगावाट बिजुलीमध्ये ३ हजार मेगावाट निजी क्षेत्रबाट सञ्चालित आयोजनाबाट उत्पादन भइरहेको छ । जसमा १५ खर्ब बराबरको लगानी निजी क्षेत्रको छ । तर, निःशुल्क सेयर माग गर्दै दबाब दिने पछिल्ला गतिविधिबाट निराश हुने स्थिति सिर्जना भएको व्यवसायीको गुनासो छ । जेन-जी युवाहरु भने १० प्रतिशत निःशुल्क सेयरको माग गलत भएको भन्दै मौकाको गलत फाइदा उठाउन खोज्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउँछन् ।

लगानीकर्ताले सुरक्षाको अनुभूति गर्न सकिरहेका छैनन् । इपानका अनुसार पछिल्ला वर्षमा ऊर्जा आयोजनामाथि विभिन्न समूहबाट आक्रमण, तोडफोड तथा आगजनीलगायतका घटना बढ्दै गएको छ । जेन-जी समूहका नाममा सेयर माग गर्नेहरुले आयोजनाका बाँध र पावर हाउस अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिइरहेका छन् । यस्तो बेला नेपाल प्रहरी भने आफूले लगानीकर्तालाई सुरक्षाको कमी नगराएको दाबी गर्छ ।

निःशुल्क सेयरको मागपछि अन्य क्षेत्रका व्यवसायीसमेत त्रासको स्थितिमा छन् । निजी क्षेत्र लगानी गर्न त्रसित हुने हो भने यसले आगामी दिनमा अर्थतन्त्रमा गम्भीर समस्या उत्पन्न गराउन सक्छ । त्यसैले सरकारले सुरक्षाको प्रत्याभूति गराएर व्यावसायिक वातावरण तयार गर्न जरुरी छ ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।