
काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले जापानलाई पाँच विकेटले हराएको छ। अल अमरेत मैदानमा आज साँझ सम्पन्न खेलमा एक सय ३२ रनकोलक्ष्य १८ ओभरमा पुरा गरेर नेपालल जित हाँसिल गरेको हो।
नेपालले टस जितेर खेलमा पहिलो फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङमा आएको जापानले २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको थियो।
ओपनर अभिषेक आनन्दनलाई सुरुमै रनआउट गराए पनि जापानका लागि केन्डेल कादोवाकी र इसेम रहमानले ८६ रनको साझेदारी गरे। १२ ओभर पाँच बलमा ३१ रन बनाएका रहमानलाई सोमपाल कामीले क्याचआउट गरी यो सोझेदारी तोडेका थिए। रहमान आउट हुँदा जापानले ९७ रन बनाइसकेको थियो।
४१ बलमा नै अर्धशतक पुरा गरेका केन्डेल कादोवाकीले खेलमा ६० रन जोडे। पाँच चौका र तीन छक्का प्रहार गरेका उनलाई गुल्सन झाले रोहितको हातबाट क्याचआउट गराएका थिए। त्यसपछि बेन्जामिन डेभिसले १७ रन बनाए पनि जापानका बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि सन्दीप लामिछाने र गुल्सनले पनि राम्रो बलिङ गरे। उनीहरुले समान २–२ विकेट आफ्नो नाममा गरेका हुन्। नन्दन यादवको नाममा एक विकेट रह्यो।
जवाफमा नेपालले निकै राम्रो सुरुआत गरेको थियो। ४ ओभर ६ बलमा व्यक्तिगत २१ रन बनाएर कुशल भुर्तेल आउट भए। उनी आउट हुँदा नेपालको खातामा ३६ रन थियो। आशिफ शेख व्यक्तिगत ३८ रन बनाएर आउट भए। यि दुवै खेलाडीलाई सोमा स्ल्याटरले आउट गराएका हुन्। सन्दिप जोरा ५, कुशल मल्ल ४ र रोहित पौडेल १८ रनमा बाहिरिए।
पाँच विकेट गुमाउँदा नेपालले ९० रन बनाएको थियो। यतिबेला दबाबमा आएको भए पनि अन्तिममा दिपेन्द्र र गुल्सनले सम्हालिएर खेल्दै नेपाललाई जित दिलाएका हुन्। अन्तिममा दिपेन्द्रले १४ बलमा १४ रन बनाए भने गुल्सनले २० बलमा २८ रनको आक्रामक क्यामियो खेलेका थिए। गुल्सानले एक चौका र दुई छक्का प्रहार गरेका थिए। नेपालविरुद्ध जापानका रियो थोमस, रविचन्द्रन र डेकन म्याक कोमले समान एक एक विकेट लिएका थिए।
नेपालले यो जितमा प्राप्त गरेको अंक सुपर सिक्स चरणमासमेत गणना हुनेछ।