काठमाडौं । मलेसियासँग टी-ट्वेन्टी आई सिरिज जितेको नेपाली राष्ट्रिय महिला टिम आज स्वदेश फर्कंदैछ । घरेलु टिमलाई पाँच-दुईले पराजित गरेर उपाधिको जितेको इन्दु बर्माको टिम आज राति ९ बजेर ५५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
क्लालालम्पुरमा भएको सिरिजको पाँचौं तथा निर्णायक खेलमा नेपालले मेलसियालाई ५ विकेटले पराजित गरेर उपाधि जितेको थियो । नेपालले सिरिजमा दुई पटक पछि परेको स्थितिबाट पुनरागमन गरेको हो । पहिलो खेलमा मलेसियाले नेपाललाई ३ रनले पराजित गरेको थियो । दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी हुँदै सिरिजमा फर्कियो । तेस्रो टी-ट्वेन्टी आई विनीफ्रेड दुराइसिंगमको नाममा रह्यो । यो खेल नेपालले १३ रनले गुमाएको थियो । चौथो खेलमा ६ विकेटको जित हात पारेपछि सिरिज दुई-दुइको रोमान्चक बराबरीमा पुग्यो ।
हिजो भएको अन्तिम खेलमा मलेसियाले नेपाललाई १ सय ४ रनको लक्ष्य दिएको थियो । नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्दै उपाधि उचाल्यो । यही सिरिजमा कप्तान इन्दु टी-ट्वेन्टी आईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला खेलाडी बनिन् । उनी सिरिजमा १ सय १७ रनसहित उच्च रनकर्ताको सूचीको दोस्रो स्थानमा रहिन् । कविता कुँवर सर्वाधिक विकेट लिने खेलाडी बनिन् । उनले कुल नौ विकेट हात पारेकी थिइन् । नेपालले घरेलु मैदानमा हुने आईसीसी टी-ट्वेन्टी विश्वकप ग्लोबल छनोटको तयारीका लागि मलेसिया भ्रमण गरेको हो । नेपाल क्रिकेट संघ क्यानले ग्लोबल छनोटअघि अन्य सिरिज खेल्ने जानकारी दिएको छ ।