काठमाडौं । नेपालले मलेसिया विरुद्धको पाँच खेलको टि ट्वान्टी आइ सिरिज जितेको छ । आज भएको निर्णायक खेलमा घरेलु टिमलाई ५ विकेटले पराजित गर्दै नेपालले तीन दुईले उपाधि आफ्नो बनाएको हो ।
क्वालालाम्पुरस्थित बायुमास ओभलमा टस जितेर ब्याटिङ गरेको मलेसियाले २० ओभरमा सात विकेट गुमाए १ सय ३ रनबनाएको थियो । एइना हामिजाह हासिम र कप्तान विनीफ्रेड दुराइसिङगमले ३९ रनको साझेदारी गरेका थिए । १५ रन बनाएकी हासिमलाई रचना चौधरीले आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाइन् । १४ औं ओभरमा राजमती चौधरीले दुई विकेट लिएपछि नेपाल खेलमा फर्किएको हो । नुर इज्जातुल सियाफिका १० रन र मास एल्सा गोल्डेन डक आउट भइन् । विनिफ्रेडले सर्वाधिक ४० रन जोडिन् । नेपालले अन्तिम दुई ओभरमा कसिलो बलिङ गर्यो । कविता कुँवरले अन्तिम ओभरमा तीन विकेट हात पारेकी थिइन् । उनी र राजमतीले तीन तीन विकेट लिए । जवाफमा नेपालले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । ओपनर संझना खड्काले १३ र रुवि पोदारले २६ रन बनाए । कविता कुँवर १४ र कप्तान इन्दु बर्मा ८ रनमा आउट भएका थिए । पुजा महतोले २३ रनको योगदान गरिन् । रुविना क्षेत्री १५ रनमा अविजीत रहदै नेपाललाई सिरिज दिलाएका हुन् ।
नेपालले घरेलु मैदानमा हुने आइसीसी विश्वकप ग्लोबल छनौटको तयारीका लागि मलेसियासँग सिरिज खेलेको हो ।