काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनौट आजबाट ओमानमा सुरु हुँदैछ । समुह बी मा रहेको नेपालले आफ्नो पहिलो खेलमा आज कुबेतसंग प्रतिस्पर्धा गर्नेछ ।
मस्कटस्थित अल अमेरत क्रिकेट ग्राउन्डमा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । रोहित पौडेलको कप्तानी र स्टुअर्ट ल को प्रशिक्षणमा रहेको नेपाल छनौट दावेदार टिम हो । टेस्ट राष्ट्र वेस्ट इन्डिज संग तीन खेलको टि ट्वान्टी आइ सिरिज दुई एकले जित्दै नेपाल ओमान पुगेको छ । युएइको शारजाहमा आइसीसीको पुर्ण सदस्य राष्ट्रविरुद्धको सिरिज अघि नेपालले अस्ट्रेलियाको पनि भ्रमण गरेको थियो । वार्म अप म्याचमा पनि कतार र ओमानलाई हराएको नेपालको मनोबल उच्च छ ।
तेस्रो पटक विश्ककप खेल्ने सपना पुरा गर्ने लक्ष्य सहित ओमान पुगेको नेपालले निकै राम्रो तयारी गरेको छ । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै डिपार्टमेन्टमा नेपाली टिम उत्कृष्ट देखिएको छ । आक्रमक ब्याटिङका लागि परिचित आदिल आलम, बाया हाते ब्याटर कुशल मल्ल र मिडल अर्डर सम्हाल्न सक्ने संदिप जोराको पुनरागमनगले टिम थप संतुलित बनेको छ । कुशल भुर्तेल र आसिफ शेखबाट नेपालले राम्रो सुरुवातको अपेक्षा राखेको छ । रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, गुल्सन झाबाट रन बने नेपाललाई जितका लागि त्यति संघर्ष गर्नु पर्ने छैन । बलिङमा पनि स्पिनर र पेश दुवैमा नेपाल संग पर्याप्त विकल्प छन् ।
यसअघिका दुवै विश्वकपमा सहभागी सोमपाल कामी, करण केशीको अनुभव नेपालले प्रयोग गर्नेछ । नन्नदन यादवले उनलाई साथ दिनेछन् । ललित राजबंशी, संदिप लामिछानेले स्पिनको जिम्मेवारी सम्हाल्नेछन । कुवेत अन्डरगड टिमका रुपमा छनौटमा सहभागी छ । स्पिनर यासिन पटेल उसका लागि मुख्य हतियार हुन् । दुवै टिमका लागि छनौटको पहिलो खेल महत्वपुर्ण रहेनछ । पछिल्ला तीन टि ट्वान्टी आइमा नेपालले दुई र कुवेतले एक खेल जितेका छन् । गत अप्रिलमा हङकङमा भएको चार देश सम्मिलित सिरिजको फाइनलमा नेपाल कुबेत संग तीन रनले पराजित भएको थियो । छनौटको पहिलो दिन आज अन्य दुइ खेल पनि हुनेछन् ।
दिउँसो पौने १२ बजे उद्घाटन खेलमा समूह बीमा रहेको घरेलु टिम ओमानले सामोआको सामना गर्दैछ । सामोआ बाट न्युजिल्यान्डका पुर्व खेलाडी रस टेलर खेल्नेछन् । दिउँसो सवा ४ बजे समूह एका कतार र युएई बीच प्रतिस्पर्धा हुनेछ ।