झापामा बाढीले विस्थापित बनाएका परिवारको संख्या १२ हजार नाघ्याे

आश्विन १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
झापामा बाढीले विस्थापित बनाएका परिवारको संख्या १२ हजार नाघ्याे

झापा । झापामा बाढीले विस्थापित बनाएका परिवारको संख्या १२ हजार नाघेको छ । 

अविरल वर्षापछि झापाका विभिन्न स्थानीय तहका बस्ती डुबानमा परेका छन् । प्रहरी कार्यालय झापाका अनुसार अहिलेसम्म २ हजार ५ सय घर धुरीका १२ हजार जना बाढीका कारण विस्थापित भएका छन् । झापामा बाढीबाट एकजनाको ज्यान गएको छ ।

कन्काई नदीको डुबानबाट झापा गाउपालिकाको वडा नम्बर दुईका सुगा बथान र मिलन बस्ती वढी प्रभावित बनेका छन् । प्रभावितलाई स्थानीय विद्यालय कुवाडीदेवी माविमा स्थानन्तरण गरिएको प्रशासनले जनाएको छ । हिजोबाट मुसलधारे वर्षाले क्षति गरेको हो भने दिउँसो वर्षा रोकिएको छ । साँझ भने पानी पर्न सुरू भएको छ । 

पूर्वपश्चिम राजमार्ग अर्थात् एसियन हाइवे निर्माण जारी रहेकोले मेचीनगरको कालीखोलामा कलर्भट माथिबाट पानी बगेको र कन्काई नदी दुधे सडक खण्डको भालुखोलाको कजवे बगाएकोले बैकल्पिक मार्गबाट सवारी सञ्चालन गरिएको छ । वर्षात् रोकिएमा भोलीसम्म सवारी सञ्चालन गर्न सक्ने बाटो बनाउने प्रशासनले जनाएको छ ।

विशेष गरी झापा गाउँपालिका १, २, ३, ६ र ७ का स्थानीय अत्यधिक प्रभावित भएका छन् । यी वडामा माईखोलाको बाढी पसेको छ । प्रभावितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । सबै विस्थापितहरू आफन्त, स्थानीय विद्यालय, सामुदायिक भवन र मन्दिरहरूमा अस्थायी शिविर बनाइ बसेका छन् । बाढीले घर, बाख्रा, गाईभैँसी, अन्नबाली र विद्युत्–सडक संरचना समेत क्षतिग्रस्त पारेको छ । 

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार प्रहरी, सशस्त्र र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी छ । उता, अविरल वर्षापछि आएको बाढी तथा पानी निकास नहुँदा डुबान तथा कटानबाट सर्लाहीमा एक हजार ६ सय १९ परिवार विस्थापित भएका छन् । १९ जनालाई भने सुरक्षाकर्मीले उद्धार गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.