काठमाडौं । सामान्यत: प्राकृतिक विपद् समाजका लागि चुनौती बन्छन् । तर यस्तै विपद्ले कहिले-काहीँ राष्ट्रिय एकताको भावना बढाउने मात्र होइन सरकारको परीक्षणसमेत हुन्छ ।
यस वर्ष मनसुन सकिने बेला भारी वर्षा भएपछि नेपालका धेरै जिल्ला बाढी र पहिरोबाट प्रभावित भए । यस्तो विपद्का बेला सरकारले सम्पूर्ण शक्ति परिचालन गरेर ठूलो क्षति हुनबाट नागरिकलाई जोगायो । त्यसमा पनि सुरक्षा निकायको भूमिका अग्रपङ्तिमा रह्यो ।
हरेक विपद्का बेला सुरक्षाकर्मी अग्रपंक्तिमा रहँदै जनताको सुरक्षामा खटिनुपर्छ । तर गतवर्षको बाढी, पहिरो र डुबानका बेला समयमै सुरक्षाकर्मी परिचालन हुन नसक्दा ठूलो क्षति भएको थियो । यस पटक भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समयमै परिचालन भएर जनताको सुरक्षामा खटिए । जसले जनतामा सुरक्षा निकायप्रतिको विश्वास बढाएको छ ।
विपद् घटनामा नेपाली प्रहरी सधैं अग्रपंक्तिमा खटिन्छ । सरकारले जारी गर्ने सूचनाका आधारमा प्रहरीले जनतालाई सूसुचित गर्छ । शनिबारको सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै प्रहरीले देशभर माइकिङ गरेको थियो । नाका-नाकामा तैनाथ भयो ।
जसले जोखिमयुक्त क्षेत्रतर्फ सर्वसाधारणलाई जान दिएन र जोखिममा रहेका वस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्यो । पहिरो गएको स्थानमा जोखिम मोलेरै भए पनि प्रहरी खटिएर नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलायो । नेपाल प्रहरीले विपद् प्रतिकार्यका लागि २० हजार ४ सय ८५ जना जनशक्ति परिचालन गरेको छ ।
सशस्त्र प्रहरी बल नेपालले पनि विपद् व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरिररहेको छ । सशस्त्र प्रहरीले आफ्ना हरेक युनिटबाट ३५ जनाका दरले देशभर ९ हजार ३ सय ४६ जना जनशक्ति परिचालन गरेको छ । ७ हजार ६ सय १५ जनशक्ति तयारी अवस्थामा छ ।
जसमा १ सय ३५ जना गोताखोर र ३ हजार ९ सय जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति छ । त्यस्तै, ३३ वटा मोटरबोट, ९६ वटा र्याफ्टिङ बोटसहित १ सय २९ वटा बोटलाई देशभरका जोखिमयुक्त क्षेत्रमा तैनाथ गरिएको छ ।
त्यसो त नेपाली सेनाले मनसुनजन्य विपद् प्रतिकार्यका लागि २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मी परिचालन गरेको छ । सेनाले २७ स्थानमा विभिन्न उपकरणसहित विशेष तालिम प्राप्त उद्धारकर्मी तैनाथ अवस्थामा राखेको छ । उद्धार छिटो गर्न सुर्खेत र इटहरीमा एक-एक वटा हेलिकोप्टर पनि सेनाले तैनाथ गरेको छ ।
यस पटक सरकारले जारी गरेको पूर्वसूचना र वास्तविक उद्धार कार्यमा खटिएका सुरक्षा निकायको तत्परता र समर्पण वास्तवमै सराहनीय छ । तीनवटै सुरक्षा निकायबीचको समन्वयले विपद् प्रतिकार्यकार्यलाई थप प्रभावकारी बनाएको छ । जोखिमका बेला यी निकाय जनताको सुरक्षाका लागि अग्रपंक्तिमा रहँदा नागरिकमा भरोसा र आत्मविश्वास दुवै बढेको छ ।