काठमाडौं । नागरिकले आफूलाई अप्ठ्यारो पर्दा सबैभन्दा पहिले सम्झिने भनेकै राज्यलाई हो ।
असहज परिस्थितिमा सरकारबाट सहयोग पाए नागरिकले राज्यको महसुस गर्न पाउँछन् । जुन काम राज्यको कर्तव्य पनि हो । यस पटकको इलाममा ठूलो मानवीय क्षति भयो। तर पाँचवटा प्रदेशका ४० जिल्लालाई जोखिमयुक्त भनिएकोमा लगातार भारी वर्षा जारी रहँदा अझै ठू्लो क्षति हुन सक्ने सम्भावना थियो, जुन हुन पाएन ।
प्रतिकूल मौसमसम्बन्धी पूर्वजानकारीको प्रवाह, सतर्कता र सावधानी अपनाउन विभिन्न माध्यमको प्रयोगबाट सचेतना र सबै सरकारी निकाय परिचालन गर्दै सरकारले सम्पूर्ण शक्ति लगाएका कारण जोखिम न्युनीकरण सम्भव भयो। यसका लागि नागरिकले सरकारको भूमिकाको प्रशंसा गरेका छन्।
गत शुक्रबारदेखि लगातार परेको भारी र अतिभारी वर्षाले देशभरकै जनजीवन अस्तव्यस्त बनेको छ । काठमाडौंलगायतका स्थानमा आइतबारदेखि मौसममा सुधार आए पनि पूर्वी क्षेत्रमा अझै पानी परिरहेको छ । पहिरोले सडक अवरूद्ध हुँदा दशैं मनाउन एक ठाउँबाट अर्को ठाउँमा गएकाहरूले आवतजावत गर्न पाएनन् ।
बाढी र पहिरोकै कारण तीन दर्जनभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । तर यस्तो परिस्थितिकाबीच पनि प्रारम्भिक चरणमै विपद् व्यवस्थापनको काम गरेको भन्दै सरकारको प्रशंसा भइरहेको छ । विपद् व्यवस्थापनका लागि सरकारले सुरक्षा निकायदेखि स्थानीय तहसम्मको सहकार्यमा उद्दार टोली परिचालन, जोखिमयुक्त क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम मात्रै गरेन आपतकालीन सेवाहरू सक्रिय बनाउँदा सम्भावित ठूलो क्षति टरेको हो । त्यसको आभास पनि नागरिकले गरेका छन् ।
विपद्को परिस्थितिमा सरकारले आफ्ना संयन्त्र परिचालन मात्रै गरेन राज्य भएको आभास दिलाउन सरकारका उच्च तहका व्यक्ति आफैं फिल्डमा खटिए । विशेष गरी सुरक्षा निकायले रातभर जोखिमयुक्त क्षेत्रका वासिन्दालाई सुरक्षा दिएको विषयले अहिले प्रशंसा पाइरहेको छ ।
हो, अहिले सरकारले नागरिकलाई अप्ठ्यारो परेका बेला जे गर्नुगर्ने थियो त्यही गरेको हो । नागरिकको जनधनको सुरक्षा दिनु राज्यको कर्तव्य नै हो । तर विगतका वर्षहरूमा नागरिक विपद्मा पर्दा सरकारको दरिलो उपस्थिति देखिँदैन थियो । सरकार आलोचना खेप्न बाध्य हुनुहुन्थ्यो । तर अहिले जनताले प्रत्यक्ष महसुस गर्ने गरी सरकारले विपद् व्यवस्थापनको काम गरेको छ ।
त्यही कारण नागरिक खुसी र सन्तुष्ट देखिएका हुन् । विपद् व्यवस्थापनमा अहिलेको सरकारले गरेको काम भावी दिनका लागि पनि उदाहरणीय बन्न सकोस् ।