काठमाडौं । पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि मलेसिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले सिरिजको दोस्रो खेलमा भोलि घरेलु टोलीको सामना गर्दैछ ।
क्वालालम्पुरस्थित वायुमास ओभलमा खेल नेपाली समयअनुसार बिहान पौने ८ बजे सुरु हुनेछ । पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा मलेसियासँग ३ रनले पराजित नेपाल सिरिजमा १-० ले पछि छ । नेपाल पुनरागमन जितसहित सिरिज बराबरी गर्ने लक्ष्यमा हुने छ ।
मलेसियाले दिएको १ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १०१ रन मात्र बनाउन सकेको थियो । अन्तिम ओभरमा जितका लागि ७ रन आवश्यक भएकोमा कविता जोशी र राजमती ऐरी क्रिजमा रहे पनि ३ रन मात्र जोड्न सकेका थिए । नेपालका लागि पूजा महतोले सर्वाधिक ३० रन बनाएकी थिइन् ।
नेपालले मलेसियासँग हालसम्म १२ टी-२० आई खेलेको छ । जसमध्ये ७ खेलमा जित हात पार्दा ५ मा पराजित भएको छ । नेपाल आगामी जनवरीमा घरेलु मैदानमा हुने आईसीसी महिला टी-२० विश्वपक ग्लोबल छनोटको तयारीका लागि मलेसिया गएको हो ।