ईपीएलमा आज राति बर्नमथ र फूलहमबीच प्रतिस्पर्धा हुँदै

आश्विन १७, २०८२ |खेल ब्युरो
ईपीएलमा आज राति बर्नमथ र फूलहमबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । इंग्लिस प्रिमियर लिग-ईपीएलमा शुक्रबार राति हुने एक मात्र खेलमा बर्नमथ र फूलहम प्रतिस्पर्धा गर्दै छन् । 

खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरू हुनेछ । बर्नमथ जारी सिजनको प्रिमियर लिगमा गरेको उत्कृष्ट सुरुवातलाई निरन्तरता दिने लक्ष्यसहित भाइटालिटी स्टेडियममा फूलहमलाई स्वागत गर्न लागेको हो ।

गत साता लिड्स युनाइटेडसँग २-२ को बराबरीमा रोकिएको बर्नमथले धेरै अवसर सिर्जना गर्न नसके पनि पछिल्ला तीन गोल सेट-पिसमार्फत गरेको छ । बर्नमथले लिगमा अहिलेसम्म मात्र एक हार बेहोरेको छ । पहिलो खेलमा लिभरपुलविरूद्ध पराजित भए पनि त्यसपछि तीन जित र दुई बराबरी नतिजा हात पारेको बर्नमथ राम्रो लयमा छ । 

घरेलु मैदानमा पछिल्ला सात खेलमध्ये चारमा जित दर्ता गर्दा चारपटक क्लिन-सिट राखेको छ । फूलहमले भने एस्टन भिल्लाविरूद्ध खेलको सुरूआती मिनेटमै अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा हार बेहोर्नु परेको थियो । 

फूलहमले पछिल्ला पाँचमध्ये तीन जितेको छ । तर उसले सबै जित घरेलु मैदानमा हात पारेको हो । यस सिजन उसले अहिलेसम्म घर बाहिर जित हात पार्न सकेको छैन । गत सिजनको अन्तिम चरणमा पनि फूलहमले पाँचमध्ये चार अवे खेल गुमाएको थियो ।

६ खेलमा ३ जितसहित छैटौं स्थानमा रहेको बोर्नमाउथसँग ११ अंक छ । जुन शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा मात्र चार अंक कम हो । समान खेलमा २ जितसहित फूलहम ११औं स्थानमा रहे पनि घरेलु टोलीभन्दा केबल तीन अंकले पछि छ ।