आईसीसी महिला विश्वकप : आज इङल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदै

आश्विन १७, २०८२ |खेल ब्युरो
आईसीसी महिला विश्वकप : आज इङल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदै
Photo Source : Agency

काठमाडौं । आईसीसी महिला विश्वकपमा शुक्रबार इङल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । 

भारतको गुवाहटीस्थित बारसापारा क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरू हुनेछ । यो स्टेडियममा जारी विश्वकपमा हुन लागेको यो दोस्रो खेल हो । यही मैदानमा भएको उद्घाटन खेलमा भारतले श्रीलङ्कालाई पराजित गरेको थियो । 

इङ्लिस टिम नाट सिभर ब्रन्टको कप्तानीमा मैदान उत्रिँदैछ । नाट सिभर पहिलो पटक कप्तानीको जिम्मेवारी सम्हाल्दै छिन् । उनलाई पूर्व कप्तान तथा अनुभवी हिथर नाइटसको साथ रहनेछ । विश्वकपमा इङल्यान्ड दक्षिण अफ्रिकामाथि हाबी छ । 

यसअघिका ८ भेटमा इङल्यान्डले ६ र दक्षिण अफ्रिकाले २ खेलमा जित हात पारेको छ । सन् २०२२ को विश्वकपमा समूह चरणमा दक्षिण अफ्रिका विजयी भएको थियो । तर सेमिफाइनलमा इङल्यान्डसँग पराजित भएको थियो ।

२०१७ मा पनि यही नतिजा आएको थियो । दक्षिण अफ्रिकी कप्तान लौरा भोलफार्टले, पछिल्लो समय उत्कृष्ट क्रिकेट खेलिरहेकाले इङल्यान्डलाई हराउन सक्ने विश्वास व्यक्त गरिन् । विश्वकपअघि दक्षिण अफ्रिकाले भारत र श्रीलंकासँग त्रिकोणात्मक सिरिज खेलेको थियो । त्यसपछि पाकिस्तानसँग प्रतिस्पर्धा गर्‍यो । दक्षिण अफ्रिकी टिमका प्राय: सबै खेलाडी लामो समय देखिसँगै खेलिरहेका छन् ।

जारी विश्वकपमा दुबै टोलीका लागि यो पहिलो खेल हो । त्यसकारण दुबै टोली जितसहित प्रतियोगिताको सुखद् सुरूवात गर्ने लक्ष्यमा हुने छन् ।