काठमाडौं । नेपाल र मलेसियाको राष्ट्रिय महिला क्रिकेट टोलीबीचको पाँच खेलको टी-२० आई सिरिज भोलि अर्थात् विजया दशमीका दिन सुरू हुँदैछ ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा खेल नेपाली समय अनुसार दिउँसो पौने १२ बजे सुरू हुनेछ । यसै सिरिजका लागि नेपाल क्रिकेट संघ- क्यानले १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । मलेसियासँगको सिरिजबाट राष्ट्रिय टिमकी सिनियर खेलाडी सीता राना मगरले पुनरागमन गर्दैछिन् ।
५ खेलाडी परिवर्तन गरिएको सिरिजमा सीतासहित सोमु विष्ट, रचना चौधरी, यशोदा विष्ट र सावित्री धामीले टिममा स्थान बनाएका छन् । ईश्वरी विष्ट, सबनम राई, बिन्दु रावल, रोमा थापा र मनिषा उपाध्यायले यस पटक टिममा स्थान बनाउन सकेनन् ।
सिरिजअघि नेपाली खेलाडीहरूले मलेसियन सुपर वुमन सिरिज खेलेका थिए । उक्त प्रतियोगिताको उपाधि साउदर्न जाग्वार्सले जितेको थियो । जाग्वार्समा नेपाली खेलाडी रुविना क्षेत्री, सोनु विष्ट र पूजा महतो सामेल थिए । सीता रानामगरको नेतृत्वमा रहेको सेन्ट्रा सुपर गर्ल्स उपविजेता बनेको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टिमको उपकप्तान पूजा महतो प्लेयर अफ दी सिरिज बनेकी थिइन् भने नोर्थर्न क्विन्सकी कविता कुँवर उत्कृष्ट ब्याटर घोषित भएकी थिइन् । यस प्रतियोगितामा नेपाली स्क्वाडमा रहेका सबै १४ खेलाडीले फरक-फरक पाँच टोलीबाट खेलेका थिए ।
नेपाली महिला टोली आगामी जनवरीमा घरेलु मैदानमा हुने महिला टी-२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि मलेसिया भ्रमणमा गएको हो ।