काठमाडौं । स्टार लेग स्पिनर सन्दीप लामिछानेले युनिटी कपअन्तर्गत वेस्ट इन्डिजविरुद्धको पहिलो खेल सुरु हुनु ४५ मिनेटअघि उक्त खेल नखेल्ने बताएपछि बाँकी २ खेलका लागि निलम्बित गरिएको नेपाल क्रिकेट संघ–क्यानले जनाएको छ ।
क्यानका सचिव पारस खड्काले आज विज्ञप्ति जारी गर्दै सन्दीपको उक्त निर्णयले टिम व्यवस्थापन, खेलाडी एवम् समग्र नेपाली क्रिकेटलाई नै गम्भीर असर परेको भन्दै बाँकी २ खेलका लागि निलम्बन गरिएको जनाएका हुन् । सन्दीपलाई टिम व्यवस्थापनको सिफारिसमा पहिलो खेललगत्तै बाँकी २ खेलका लागि निलम्बित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
गत शनिबारदेखि युएईको शारजाहमा खेलिएको तीन टी–ट्वेन्टी आई खेलको युनिटी कपमा नेपालले शानदार प्रदर्शन गरेको थियो । सो सिरिजमा २–१ को जित हात पारेको नेपालले टेस्ट टोलीविरुद्ध पहिलो पटक सिरिज जितेको थियो । मंगलबार सम्पन्न अन्तिम खेलमा क्यारेवियन टोलीसँग पराजित भए पनि नेपालले ऐतिहासिक सिरिज आफ्नो पक्षमा परेको थियो ।
यसैगरी आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिकको संयुक्त छनोटका लागि १६ सदस्यीय नेपाली टोली आज ओमान प्रस्थान गरेको छ । छनोट प्रतियोगिता अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा आयोजना हुने छ । प्रतियोगितामा सहभागी ९ मध्ये शीर्ष ३ टोलीले २०२६ को फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्व कपमा स्थान बनाउने छन् ।