
काठमाडाैं । यूएफा च्याम्पियन्स लिगमा बुधबार बार्सिलोना र साविक विजेता पेरिस सेन्ट जर्मेन-पीएसजी आमने-सामने हुँदैछन् ।
बार्सिलोनाको मैदानमा हुने खेल नेपाली समयअनुसार राति पौने एक बजे सुरू हुनेछ । पीएसजी र बार्सीलोना दुवैले आ-आफ्नो खेलमा जित हात पार्दै सिजको सुखद सुरूवात गरेका थिए । बार्सिलोनाले लिग चरणको पहिलो खेलमा न्यूक्यासललाई २-१ गोलले पराजित गरेको थियो ।
स्पेनिस क्लबको जितमा दुवै गोल मार्कस र्यासफर्डले गरेका थिए । यस्तै पीएसजीले एटलान्टामाथि ४-० गोलको फराकिलो जित हात पार्दै उपाधि रक्षाको यात्रा सुरू गरेको हो । बार्सिलोनाकै लमिन यामललाई पछि पार्दै पीएसजीका उस्मान डेम्बेलेले बलुन दो अवार्ड जितेका थिए । बार्सिलोना ला-लिगामा जारी सिजन अपराजित छ ।
पीएसजीले भने ६ खेल मध्ये एकमा हार बेहारेको छ । युरोपियन प्रतिस्पर्धामा यी दुई टिमबीच हुन लागेको यो १६औं भेट हो । जसमा बार्सिलोनाले ६ र पीएसजीले ५ खेल जित्दा चार बराबरी भएको थियो । फ्रेन्च क्लब पीएसजीले पछिल्ला दुई अबे खेलमा बार्सिलोनालाई पराजित गरेको छ ।
यदि आज जित हात पारे पीएसजी, बार्सिलोनालाई युरोपको मुख्य प्रतिस्पर्धामा लगातार तेस्रो पटक पराजित गर्ने पहिलो टिम बन्नेछ । लुइस इनरिके र हान्जी फ्लिक दुवैका लागि यो खेलमा अंक जोड्नु महत्वपूर्ण हुनेछ । यस्तै आजै आर्सनलले घरेलु मैदानमा ओलम्पियाकोससँग खेल्दैछ ।
इमिरेट्स स्टेडियममा खेल पौने एक बजे सुरू हुनेछ । आर्सनल लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा छ । ओलम्पियाकोसले पाफोससँग गोलरहित बराबरी खेलेको थियो । यही समयमा भियारियाल र युभेन्टस् तथा लिभरकुसेन र पीएसभीबीच पनि प्रतिस्पर्धा हुनेछ । म्यानचेस्टर सिटीले मोनाकोको भ्रमण गर्नेछ ।
नापोली र स्पोर्टिङ लिस्बन, बोरुसिया डर्टमन्ड र एथ्लेटिक क्लबको खेल पनि आजै हुनेछ । राति साढे १० बजे काराबाग र कोपनहेगन तथा युनियन सेन्ट र न्युक्यासल मैदान उत्रनेछन् ।