युनिटी कप : अन्तिम खेलमा नेपाल र वेस्ट इन्डिज भिड्दै, नेपाल क्लिन स्विप गर्ने लक्ष्यमा

आश्विन १४, २०८२ |खेल ब्युरो
युनिटी कप : अन्तिम खेलमा नेपाल र वेस्ट इन्डिज भिड्दै, नेपाल क्लिन स्विप गर्ने लक्ष्यमा

काठमाडाैं । नेपालले मंगलबार वेस्ट इन्डिजसँगको तेस्रो तथा अन्तिम टी-२० आई खेल्दैछ । 

एक खेलअघिनै सिरिज जितिसकेको नेपाल क्लिन स्विप गर्ने लक्ष्यमा हुनेछ । यूएईको शारजाह क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति सवा ८ बजे सुरू हुनेछ । नेपालले यसअघिका दुवै खेल जितेर इतिहास रचिसकेको छ । 

पहिलो खेलमा वेस्ट इन्डिजलाई १९ रनले हराएको नेपालले साेमबार भएको दोस्रो टी-२० आईमा ९० रनको फराकिलो जित हात पार्यो । लगातार दोस्रो खेल जित्दै नेपालले सिरिजको उपाधि जितिसकेको छ । दुई खेलमा रोहित पौडेल, कुशल मल्ल, आशिफ शेख र संदिप जोराले उत्कृष्ट ब्याटिङ गर्नु नेपालका लागि सुखद रह्यो । 

कुशल भुर्तेलले रन बनाउन नसके पनि बलिङबाट योगदान गरिरहेका छन् । तीन वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका आदिल आलमले पनि प्रशिक्षक स्टुअर्ट ललाई प्रभावित गरे । उपाधि जितिसकेकाले लले मंगलबारको खेलमा प्लेइङ इलाभेनमा परिवर्तन गर्न सक्नेछन् । 

उनले बेन्चमा रहेका खेलाडीलाई मौका दिन सक्छन् । यो खेलसँगै नेपालले टी-२० विश्वकप छनोटको तयारी पनि पुरा हुनेछ । त्यसपछि नेपाल विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान प्रस्थान गर्नेछ । वेस्ट इन्डिज सिरिज क्लिन स्विप गर्नबाट नेपाललाई रोक्ने प्रयासमा हुनेछ ।