पौडीबाज अथर्वले बनाए दुई राष्ट्रिय कीर्तिमान

आश्विन १३, २०८२ |खेल ब्युरो
पौडीबाज अथर्वले बनाए दुई राष्ट्रिय कीर्तिमान

काठमाडौं । नेपाली पौडीबाज अथर्व सिंहले ११औँ एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा साेमबार दुई नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

भारतको अहमदाबादमा जारी प्रतियोगितामा अथर्वले पुरूष एक हजार पाँच सय मिटर फ्रिस्टायल १७ मिनेट ४३.५७ सेकेन्डमा पूरा गर्दै १० वर्षअघि शिरिष गुरूङले बनाएको १८ मिनेट ४५.६२ सेकेन्डको कीर्तिमान भंग गरे ।

सोही स्पर्धामा नेपालका कल्किन श्रेष्ठले पनि शिरिषको कीर्तिमानलाई उछिने । कल्किनले १८ मिनेट ११.११ सेकेन्डमा निर्धारित दूरी तय गरेको पौडीका मुख्य प्रशिक्षक शंकर कार्कीले जानकारी दिनुभयो ।

अथर्वले अर्को कीर्तिमान चार सय मिटर व्यक्तिगत मिड्लेमा बनाए । यो स्पर्धामा पनि अथर्वले सन् २०१६ मा शिरिषले नै स्थापित गरेको पाँच मिनेट ०४.७० सेकेन्डको कीर्तिमान तोडेका हुन् ।-रासस