काठमाडौं । इंग्लिस प्रिमियर लिग-ईपीएलमा साेमबार राति एभर्टनले वेस्टहमको सामना गर्दैछ ।
हिल डिकिन्सन स्टेडियममा खेल नेपाली समयअनुसार राति पौन १ बजे सुरू हुनेछ । जारी सिजन खराब सुरूआत गरेका दुबै टोली जितसहित लयमा फर्कने लक्ष्यमा हुने छन् ।
पछिल्ला तीन खेलमा जितविहीन बनेको एभर्टनले लिग कपमा वुल्भ्सविरूद्ध अप्रत्याशित हार भोगेको थियो । तर घरेलु मैदानमा यस सिजन प्रिमियर लिगमा एक गोल पनि नखाएको एभर्टनले फेरि इतिहास बनाउने अवसर पाएको छ ।
उता, लगातार खराब प्रदर्शनपछि वेस्ट हमले प्रशिक्षक ग्राहम पोटरलाई विदा गरी सान्तोलाई जिम्मेवारी दिएको छ । लन्डन डर्बीमा क्रिस्टल प्यालेसविरूद्धको २-१ को हारसँगै वेस्ट हम लिगको पुछारबाट एक स्थान माथि छ ।
उसको ५ खेलमा ३ अंक छ । समान खेलमा ७ अंक जोडेको एभर्टन १२औं स्थानमा छ । यी दुई टोलीबीचको खेलसँगै प्रिमियर लिगको छैटौं चरण समाप्त हुनेछ । प्रिमियर लिगको प्रत्यक्ष प्रशारण कान्तिपुर म्याक्सबाट भइरहेको छ ।