काठमाडाैं । अब त समर्थकलाई पनि अखिल नेपाल फुटबल संघ-एन्फा सहिद स्मारक 'ए' डिभिजन लिग गराउनै चाहँदैन र क्लबहरू पनि लिग खेल्नै चाहँदैनन् भन्ने लाग्न थालेको छ ।
एन्फा र क्लबहरू लिगका लागि तयार छौं भनेर देखाउन मात्रै चाहन्छन् । अनौपचारिक रूपमा यस्तै कुरा गर्ने एन्फा र क्लबका पदाधिकारी औपचारिकरूपमा भने एकअर्कालाई दोष देखाएर लिग रोक्छन् । अनि मारमा पर्छन खेलाडी, रेफ्री, प्रशिक्षक र अन्य कर्मचारी । यसको पछिल्लो उदाहरण हो– एन्फाले प्रस्ताव गरेको होम एन्ड अवे लिग प्रणालीको विवाद ।
पछिल्लो साढे दुई वर्षयता आयोजना हुन नसकेको सहिद स्मारक 'ए' डिभिजन लिग तातो आलुजस्तो भएको छ । लिग अवरूद्ध हुनुको जिम्मा न क्लबले लिन्छ न एन्फाले । दुई वर्षयता लिगको तयारी नै नगरेको एन्फाले पहिलोपटक लिगलाई होम एन्ड अवे शैलीमा गर्ने प्रस्ताव गर्यो । त्यो पनि लिग सुरू हुनुभन्दा तीन महिनाअगाडि मात्रै ।
फुटबल समर्थकले एन्फामा परिवर्तनको माग गर्दै कार्यसमितिको चर्को आलोना गर्न थालेपछि मात्रै एन्फाले 'ए' डिभिजन लिग गर्ने भन्दै छलफल थालेको हो । यतिबेला न क्लबसँग मैदान छ, न ठाउँ निर्धारण भएको छ, न लिग हुन्छ भन्ने सुनिश्चितता नै छ । लिग नै हुन्छ कि हुँदैन भन्ने दोधार रहँदा, क्लबहरू भने सबै कुरा स्पष्ट नभई होम एन्ड अवेमा जाने पक्षमा छैनन् ।
सहिद स्मारक 'ए' डिभिजन लिग खेल्ने १४ वटै क्लब काठमाडौं उपत्यकाका हुन् । यिनले देशका अन्य ठाउँको प्रतिनिधित्व गर्दैनन् । तर विश्व फुटबलको विकास हेर्दा जहाँ फुटबलले सबै क्षेत्रको प्रतिधिनित्व गरेको छ त्यहाँ मात्रै फुटबल जीवित छ ।
फ्यान, ब्रोडकास्टिङ र प्रायोजकले पनि त्यस्तो शैलीलाई नै प्राथमिकता दिन्छन् । तर नेपाली फुटबलको सबैभन्दा प्रतिष्ठित लिगमा यो शैलीको कहिल्यै अभ्यास नै भएन । अहिले एन्फाले एकै पटक होम एन्ड अवेमा जाने भनेपछि क्लबहरूमा छाएको अन्योलले लिग हुनेमा नै आशंका उत्पन्न भएको हो ।
आउादो फागुनमा एन्फाको चुनाव छ । एन्फा पदाधिकारीलाई जहिल्यै फुटबलको भन्दा चुनावको चिन्ता धेरै हुने गरेको छ । एन्फाले यो वर्ष क्लबहरूलाई तयारी खर्चसमेत नदिने भएको छ । आफै स्पोन्सर खोजेर लगानी गर्न भनेपछि क्लबहरू अझै केही वर्ष लाग्ने भन्दै तयारी खर्च कटौती गर्न नहुने बताउँछन् । तर एन्फा भने क्लब व्यावसायिक बन्न आफै स्रोत खोज्नुपर्ने बताउँछ ।
एन्फा र क्लबबीचको विवादले खेलाडी र लिगमा सहभागी अन्य पक्ष भने आक्रोशित छ । सधैा दोषारोपण मात्रै गरिरहनाले नेपाली फुटबलको अधोगति भएको उनीहरूको ठम्म्याइ छ । जुनसुकै कारणले पनि प्रतियोगिता रोकिनु दुखद् हो ।
फुटबलको मेरूदण्डका रूपमा रहेको शीर्ष डिभिजनको लिग हुनु अति आवश्यक छ । तर एन्फा र क्लबको रबैया हेर्दा पुस नौ गते लिग सुरू हुनेमा शंका गर्ने ठाउँ धेरै छन् ।