विराटनगर । चाडपर्वको समयमा कोशी प्रदेशका नागरिकले असुरक्षा महसुस गरेका छन् ।
जेन-जी आन्दोलनका क्रममा कारागार, बाल सुधार गृह र हिरासतबाट भागेका एक हजार भन्दा बढी कैदी, बन्दी नफर्किएको र प्रहरीको मनोबल समेत गिरेको अवस्थामा दिउँसो समेत चोरी र लुटपाटका घटना सार्वजनिक हुन थालेपछि सर्वसाधारण त्रसित बनेका हुन् ।
असोज ७ गते विराटनगरका एक बालकलाई बन्धक बनाएर फिरौती मागे । यो प्रकरणमा संलग्न दुई जना बालकलाई प्रहरीले पक्राउ गरेपनि सबै बालक भएका कारण उनीहरूको पहिचान गोप्य राखिएको छ । झापाको बिर्तामोड नगरपालिका-सात खालबाडीमा धारिलो हतियार प्रहार गरी असोज ६ गते राती फुर्वा तामाङको हत्या भएको छ ।
हत्याको अभियोगमा प्रहरीले प्रेमकुमार राई र राम कुमार राईलाई पक्राउ गरेको छ । असोज ९ गते बिहान उदयपुरको गाईघाटस्थित महेश्वर चाम्लिङको घरबाट लुगाफाटा, नगदसहित केही महत्वपूर्ण कागजातलगायतका सामग्री चोरी भएको छ ।
विराटनगर महानगरपालिका-१२ स्थित राकेश यादवको घरबाट असोज तीन गते दिउँसो आठ तोला सुन, आधा किलो चाँदीका विभिन्न गरगहना, नगद २५ हजार रूपैयाँ लगायतका सामग्री चोरी भयो । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा कोशी प्रदेशका ५६ वटा प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको छ ।
जसमा मुद्दा चल्ने कार्यालय १०, मुद्दा नचल्ने ३४ र ट्राफिक प्रहरी कार्यालय १२ वटा छन् । तोडफोड र आगजनी भएका ५६ वटा प्रहरी कार्यालय मध्ये १५ वटामा पूर्ण क्षति भएको छ । प्रहरीका ८४ वटा सवारी साधनमा क्षति पुगेको छ ।
जसमा पाँच वटा मर्मत गरेर चलाउन सकिने अवस्थामा छन् भने ७९ वटा काम नलाग्ने गरी क्षति भएका छन् । छ जना गम्भीरसहित एक सय ३० जना प्रहरी घाइते भएका छन् । प्रहरी कार्यालयमा र सवारी साधनमा भएको क्षतिले प्रहरीलाई सुरक्षा प्रवन्ध गर्न समस्या त छनै आन्दोलनका क्रममा प्रहरीमाथि पनि आक्रमण भएका कारण प्रहरीको मनोबल गिरेको अवस्था छ ।
प्रहरीको गिरेको मनोबललाई बढाएर उच्च मनोबलका साथ शान्ति सुरक्षा कायम गर्ने काम भइरहेको प्रहरीको भनाइ छ ।