नेपालले जित्यो टेष्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक सिरिज

दोस्रो टी-ट्वेन्टी आइमा ९० रनको फराकिलो जित, आदिल आलमको शानदार पुनरागमन
आश्विन १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपालले जित्यो टेष्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक सिरिज

काठमाडौं । नेपालले, वेस्ट इन्डिज विरुद्धको टि ट्वान्टी आइ सिरिज जितेको छ । दोस्रो खेलमा दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजलाइ ९० रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको हो । टेस्ट राष्ट्रसंग नेपालले जितेको यो पहिलो सिरिज हो ।

युएइको शारजाहा क्रिकेट स्टेडियममा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्यो । स्पिनर संदिप लामिछाने लगातार दोस्रो खेलमा पनि अनुपस्थित रहे । नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रनको बलियो योगफल बनाएको थियो । नेपालले त्यती राम्रो सुरुवात गर्न सकेन् । ४३ रन बनाउदा तीन विकेट गइसकेको थियो । 

ओपनर कुशल भुर्तेल २ र कप्तान रोहित पौडेल ३ रनमा आउट भएका थिए । कुशल मल्ल पनि मात्र ७ रनमा रन आउट हुन पुगे । तर चौथो विकेटका लागि आशिफ शेख र संदिप जोराले शतकिय साझेदारी गर्दै नेपालको इनिङस सम्हाले । यी दुईले ६६ बलमा एक सय रनको महत्वपुर्ण साझेदारी गरेका हुन् । चौथो विकेटका लागि टि ट्वान्टी आइमा नेपालका लागि भएको यो उच्च साझेदारी पनि हो । यस्तै पुर्ण सदस्यसंग पहिलो पटक नेपाली ब्याटरले अर्धशतक बनाउनुका साथै शतकको साझेदारी गरेका हुन् । 

जोराले ३९ बलमा ६३ रनको योगदान गरे । आशिफ ४७ बलमा ६८ रनमा अविजीत रहे । आदिल आलमले ५ बलमा ११ रन जोडे । अकिल हुसेन र कायल मेयर्सले दुइ दुइ विकेट लिए । जवाफमा आदिल र भुर्तेलले उत्कृष्ट बलिङ गरेपछि वेस्ट इन्डिज १७ ओभर एक बलमा ८३ रनमा अल आउट भयो । शीर्ष तीन ब्याटर सिंगल रनमा पभेलियन फर्किए । जेवेल एन्ड्रिउलाइ दुइ रनमा आउट गर्दै दिपेन्द्र सिंह ऐरीले नेपाललाइ पहिलो सफलता दिलाए । केसी कार्टी एक रनमा करण केसीको बलमा क्याच आउट भए । मेयर्स ६ रनमा आदिलको बलमा मैदान बाहिरिएपछि वेस्ट इन्डिज दवावमा आयो । त्यसपछि खेलमा र्फकन सकेन् । 

अकिम अगस्टले १७, अमिर जांगोले १६, जेसन होल्डरले २१ रन बनाए । अन्य कुनैपनि ब्याटर दोहोरो रन बनाउन सफल रहे । आदिलले चार ओभरमा २४ रन दिएर चार विकेट लिए । कुशलले तीन विकेट लिने क्रममा केवल दुइ ओभर एक बल फालेका थिए । ललित राजबंशीको नाममा पनि एक विकेट रह्यो । नेपाल एक खेल अगावै सिरिज च्याम्पियन बनेको हो । पहिलो खेलमा नेपाल १९ रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल आज हुनेछ । नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग सिरिज खेलिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.