काठमाडौं । भारतले आइतबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै नवौं पटक एसिया कपको उपाधि हात पार्यो ।
तर, दुवै देशबीचको राजनीतिक तिक्तता मैदानमा पनि देखियो । भारतीय खेलाडीले प्रतियोगिताभर नै पाकिस्तानी खेलाडीसँग हात मिलाउन अस्वीकार गरे भने उपाधि जितिसकेपछि पनि पाकिस्तानका गृहमन्त्रीसमेत रहेका एसीसी अध्यक्ष मोहसिन नक्भीको हातबाट ट्रफी ग्रहण गर्न अस्वीकार गरे, जसले अर्को विवाद जन्माएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको पाकिस्तानले राम्रो सुरूआत गरेको थियो । साहिबजादा फरहान ५७ रन र फखर जमानले ४६ रन रन जोड्दा यो जोडीले ८४ रनको ओपनिङ साझेदारी गरेको थियो ।
कुनै अवस्थामा पाकिस्तान १ सय १३ रनमा १ विकेट गुमेको बलियो स्थितिमा थियो तर त्यसपछि भने खेलले अचानक मोड लियो । भारतीय बाँया हाते स्पिनर कुलदीप यादवले ४ ओभरमा ३० रन खर्च गर्दै ४ विकेट लिएर घातक बलिङ गर्दै दबाब सिर्जना गरे ।
कमजोर स्ट्राइक रोटेशन र खराब शट्सका कारण पाकिस्तानले बााकी नौ विकेट जम्मा ३३ रनमै गुमायो । अन्ततः पाकिस्तान १९ ओभर १ बलमा १ सय ४६ रनमा अलआउट भयो । जवाफी लक्ष्य पछ्याउन उत्रिएको भारतले निकै सुरूआत खराब गर्यो ।
पहिलो तीन ओभरमै तीन विकेट गुमाउँदा पाकिस्तानलाई खेलमा फर्कने ठूलो अवसर थियो । तर त्यसपछि युवा ब्याट्सम्यान तिलक वर्माले दबाब झेल्दै नटआउट ६९ रनको ऐतिहासिक इनिङ्स खेले । उनको शान्तिपूर्ण ब्याटिङलाई शिवम दुबे ३३ रन र सञ्जु स्यामसनले २४ रन जोड्दै साथ दिए । अन्ततः भारतले दुई बल बाँकी रहँदा पाँच विकेटको जित हात पार्यो ।
मैदानमा भारतले जिते पनि ट्रफी वितरणमा भने दुई देशबीचको राजनीतिक तिक्तता पोखियो । भारतीय खेलाडीहरूले पाकिस्तानी गृहमन्त्रीसमेत रहेका एसीसीका अध्यक्ष तथा पाकिस्तान क्रिकेट बोर्डका प्रमुख मोहसिन नक्भीबाट ट्रफी लिन अस्वीकार गरे ।
यसका कारण उपाधि वितरण समारोह एक घण्टा ढिला भयो र अन्ततः ट्रफी हस्तानान्तरण नगरी कार्यक्रम सकाइयो । भारतीय खेलाडीहरू व्यक्तिगत पुरस्कार लिन भने आएका थिए ।
जसमा तिलक वर्मा 'म्यान अफ द म्याच', अभिषेक शर्मा 'प्लेयर अफ द टुर्नामेन्ट' र कुलदीप यादव एमभीपी खेलाडी घोषित भए । तर, ती पुरस्कार लिन आउँदा पनि उनीहरूले नक्भीसँग हात मिलाएनन् ।
भारत-पाकिस्तानबीचको राजनीतिक सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ । गत मे महिनामा दुबै देशबीच सैन्य झडपसम्म भएको थियो । जसलाई यस फाइनलसागै जोडेर धेरैले हेरे ।
प्रतियोगिताभर भारतीय खेलाडीले पाकिस्तानी खेलाडीसँग हात मिलाउन अस्वीकार गरेका थिए । उपाधि जितेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा टिमलाई बधाई दिँदै 'अप्रेसन सिन्दुर' खेल मैदानमा पनि भएको बताए ।
एसिया कपमा भारतले पाकिस्तानलाई फाइनलसहित समूह चरण र सुपर फोरमा पराजित गर्यो । पाकिस्तानका कप्तान सलमान आघाले हारलाई निकै कठिन भन्दै आˆना ब्याट्सम्यानलाई दोष दिए । भारतका उपकप्तान शुभमन गिलले भने अपराजित अभियानमा गर्व व्यक्त गरे । तर यस पटकको एसिया कप क्रिकेटभन्दा बढी राजनीतिक तिक्तता व्यक्त गर्ने मञ्च बन्यो ।